धरानः धनकुटाको महालक्ष्मी नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई निशुल्क खाद्यान्न उपलब्ध गराउने भएको छ ।

नगरपालिकाले स्थानीय प्रहरी काार्यलयको समन्वयमा भोकै बस्न बाध्य रहेका सर्वसाधारणका लागि ९ वटै वडा मार्फत निशुल्क खाद्यान्न उपलब्ध गराउने जनाएको छ ।

कोरोनाको संक्रमणको जोखिमबाट बच्न सरकारले लागु गरेको लकडाउनमा दैनिकी ज्यालादारीमा काम गर्ने मजदुरका परिवारलाई खाद्यान्न उपलब्ध गराउने भएको हो । पैसा नभएर कोही पनि भोको बस्ने अवश्था नआउने नगरपालिकाले जनाएको छ ।

पैसा नभएर एक छाक खानबाट कोही पनि बञ्चित नहोउन् भनेर उनीहरुका लागि चैत २१ गते देखि निःशुल्क खाद्य सामग्री वितरण गर्न लागिएको सूचना अधिकारी खगेन्द्र नेपालले बताए ।

नेपालले अभाव भएकालाई सम्पर्कमा आउन समेत अनुरोध गरेका छन् । कोरोना भाइरसको महामारी फैलिरहेका अवश्थामा जोखिम कायमै रहेकाले अझै सतर्कता अपनाउन नगरपालिकाले स्थानीयलाई आग्रह गरेको छ ।