इटहरीः कोरोना भाइरस(कोभिड १९ ) को त्रासका कारण विराटनगरका केही निजी अस्पतालहरुले उपचार गर्न नमानेका कारण धनकुटाको महालक्ष्मी नगरपालिकाकी एक महिलाको ज्यान गएको छ । कोरोनाको लक्ष्यण देखिएको भन्दै विराटनगरमा केही निजी अस्पतालले भर्ना लिन नमान्दा धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको मंगलबार मृत्यु भएको नरेदवीको दाजु शिवकुमार लिम्बू तुम्बाले बताए । तुम्बा महालक्ष्मी–५ का वडा अध्यक्ष समेत हुन् ।
कोरोनाको लक्षण देखिएको भन्दै अस्वीकार गरेपछि समयमा उपचार नपाएर उच्च रक्तचापका कारण ढलेकी नरदेवीलाई परिवारका सदस्यले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरेको थियो । वीपीले आईसीयू खाली नभएको भन्दै विरानगरको न्युरो अस्पताल रेफर गरिदिएको दाजु तुम्बाले बताए । त्यसबेला नरदेवीलाई १०२ डिग्री ज्वरो समेत आएको उनले बताए ।
एम्बुलेन्समा हालेर न्युरो अस्पताल लगिएपनि त्यहाँका चिकित्सकले उपचार गर्न नमानेको नरमायाकी छोरी लक्ष्मी गुरुङ राईले बताइन् । न्यूरोले आमालाई उपचार गर्न इन्कार गरेपछि तत्कालै सोही एम्बुलेन्स फर्काएर विराट नर्सिङ होम लगिएपनि ज्वरो धेरै रहेको भन्दै भर्ना लिन नमानेको राईले बताइन् । सो अस्पतालले पनि भर्ना लिन अस्वीकार गरेपछि आमालाई नोबेल हस्पिटल लगेर भर्ना गराएको उनले जनाइन् । नरदेवीको नोबेलमा उपचारका क्रममा मंगलबार करिब साढे ३ बजे दिउँसो ज्यान गएको छोरीले बताइन् ।
छोरो लक्ष्मीले भनिन्–‘नोबेलका चिकित्सकले डेढ घण्टा जति छिटो ल्याइपु¥याएको भए उपचार सम्भव थियो । तर ढिलो भएकाले बचाउन सकिएन भन्ने जवाफ दिए । अरु अस्पताल कुदाउँदा कुदाउँदै ढिलो भयो । अरुले उपचार नै गर्न नमानेका कारण हामीले आमालाई गुमायौं ।
नरदेवीका दाजु समेत रहेका वडा अध्यक्ष शिवकुमारले सर्वसाधारणको उपचार अस्वीकार गर्ने अस्पतालको गैरजिम्मेवारीपना र गम्भीर लापरबाहीका कारण बहिनी गुमाउनु परेको बताए । उनले विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण उपचार गराउनबाट अस्पताल नै पन्छिन नमिल्ने बताए । उनले अहिलेको परिस्थितीमा उपचार गर्न नमान्ने निजी अस्पतालहरुलाई तत्काल कानूनी कार्वाहीको दायरामा ल्याउनु पर्ने माग समेत गरे ।

महालक्ष्मी नगरका मेयर पर्शुराम नेपालले बिरामीको आकस्मिक उपचार गराउनु पर्ने अस्पतालले अमानविय व्यवहार देखाएको बताए । सबै बिरामीलाई कोरोना संक्रमित देख्ने अस्पतालको नजरले सर्वसाधारण जनताले उपचार नपाएर दुःख पाइरहेको उनले बताए । ‘कोरोना त्रासका कारण स्वास्थ्य सम्बन्धी देखिने सामान्यदेखि जटिल समस्याको पनि उपचार नहुने भयो,’ मेयर नेपालले भने, ‘सुविधा सम्पन्न अस्पतालले पनि उपचार नगराउनु गम्भीर लापरबाही र गल्ती हो ।’
यस्ता अस्पताललाई सरकारले कारबाहीको दायरामा ल्याउनु पर्ने उनको माग छ । न्युरो अस्पतालका डाइरेक्टर राजेश भट्टराई कुनै पनि बिरामीको उपचार गर्न अस्वीकार नगरिएको दाबी गर्छन् । ‘भेन्टिलेटर खाली नभएर वा अरु नै केही समस्या भएर बिरामीको उपचार गर्न चिकित्सक असमर्थ भएको हुनु पर्छ,’ उनले भने, ‘यदि कोहीमा कोरोना संक्रमण नै रहेछ भने पनि हामी उपचारमा पछि पर्दैनौं ।’ भट्टराईले सबै खाले बिरामीलाई अस्पतालबाट सहज रुपमा उपचार प्रदान गर्ने काम भइरहेको दाबी गरे । विराट नर्सिङका प्रशासन प्रमुख पदम विनाडीले अस्पतालमा कोरोनाको कुनै सुरक्षात्मक उपाय नभएका कारण बिरामीको उपचार गर्न अस्पतालले अस्वीकार गरेको हुन सक्ने बताए । विनाडीले कोही स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएमा सिंगो अस्पताल समस्यामा पर्ने भएकाले उपचारका लागि आउने अरु बिरामी पनि प्रभावित हुने गरेको बताए ।