काकँडभिट्टाः विश्व यतिबेला कोरोना भाइरस विरुद्ध संघर्षरत छ । यो भाइरसका कारण करिब ४३ हजार मानिसको मृत्यु भइसकेको छ भने करिब २ लाख मानिसमा संक्रमण देखिएको छ । यो संख्या अप्रत्यासित रुपमा बढ्दो छ । नेपालमा हालसम्म ५ जनामा संक्रमण देखिएको छ भने त्यस मध्ये एक जनाको उपचार भएको छ । यस्तो विसम परिस्थितिलाई धैर्य र सचेनतापूर्वक सामना गर्न प्रतिनिधि सभा सदस्य तथा पूर्व सञ्चार मन्त्री राम कार्की पार्थले आग्रह गरेका छन् । झापा मेचीनगर ९ स्थित आफ्नै निवासमा रहेका कार्कीले आज आफ्नो क्षेत्रका जनप्रतिनिधिसँगको छलफलमा यस्तो बताएका हुन् । कार्कीले आम जनतालाई रोग विरुद्धको सरकारी अभियानलाई साथ दिन आग्रह गरेका छन् । उनले लक डाउनका कारण खाद्यन्न अभाव हुने र कतिपय अवस्थामा भोकै मर्नु पर्ने अवस्था आउन सक्ने कुरा प्रति लक्षित गर्दै भने –“तपाईहरु घरै बसेर कोरोना विरुद्ध लड्नुहोस्, भोकै मर्न हामी दिदैनौं ।”
संघीय साँसद राम कार्कीको मेचीनगर ९ स्थित निजी निवासमा बुधवार दिउँसो सम्पन्न बैठकबाट तीन तहकै सरकारलाई जनतालाई चाँडो भन्दा चाँडो राहत उपलब्ध गराउन विशेष पहल गर्ने निर्णय गरेको प्रदेश साँसद गोपाल बुढाथोकीले बताए । साँसद बुढाथोकीका अनुसार लकडाउन प्रभावित जनतालाई राहत वितरण गर्दा एकद्वार नीति अवलम्बन गरिन छ । बैठकबाट सरकारले निर्धारण गरेको विधिबाहेक जतासुकैबाट राहत वितरण गर्दा अराजकता उत्पन्न हुने भएकाले व्यक्तिगत या संस्थागत रुपमा संकलन भएका राहत सामग्रीहरुको वितरण भने वैद्य र एकद्वार प्रणाली अन्तरगत गर्न गराउन सम्बन्धित पक्षलाई आग्रह समेत गरिएको छ ।
तीन तहको सरकारले विभिन्न प्याकेजमा राहतका कार्यक्रम सार्वजनिक गरिरहेका बेला सरकारी राहतका कार्यक्रमहरुलाई जनता समक्ष सहज र प्रभावकारी रुपमा पुर्याउन सम्बन्धित क्षेत्रका साँसदको ठुलो भूमिका हुने भएकाले र त्यसका लागि आवश्यक तयारी भइरहेको बैठकमा सहभागि प्रदेश साँसद श्रीप्रसाद मैनालीले बताए । विशेष गरी गरीब, विपन्न र श्रमिकहरुको अवस्था नाजुक हुनसक्ने तर्फ लक्षित गर्दै साँसद मैनालीले आआफ्ना उद्योग, व्यापारिक प्रतिष्ठानमा कार्यरत मजदुरहरुको खाद्य व्यवस्थापन सोही उद्यागी र व्यापारीहरुले गर्नु पर्ने बताए ।
यस्तो बेलामा तल्लो तहका सामुदायिक संस्था, टोलविकास संस्था, सहकारी संस्था, लायन्स क्लबहरु, लगायतका संघसंस्थाहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै साँसद कार्कीले जनस्तरबाट भएका प्रयासमा जनप्रतिनिधि(साँसद)हरुको तर्फबाट योगदान रहेने बताए । संकटको बेलामा नगरभित्रको भरपर्दो, विश्वसनीय, बैधानिक र संगठित साझा संस्थाको रुपमा रहेको मेची उद्योग वाणिज्य संघले राहत संकलन कार्यमा अगुवाई गर्दा राम्रो हुने धारणा राख्दै साँसद कार्कीले यस्ता अभियानमा साथ र सहयोग रहने बताए ।
स्थानीय सरकार अधिकार सम्पन्न भएको र आफ्नो क्षेत्रभित्र रही आफ्ना नागरिकलाई सेवा प्रवाह गर्न साँसद कार्कीले आग्रह गर्नु भयो । सबै साँसदहरुको एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा भएको र सो रकम समेत स्थानीय सरकार मार्फत आउने उनले बताए । कार्कीका अनुसार राहत पारदर्शी र प्रभावकारी रुपमा लक्षित वर्गसम्म पुग्ने व्यवस्था मिलाउन सबैलाई सहयोग गर्न बैठकले निर्णय गरेको साँसद कार्कीले बताए । कोरोना भाइरसको सन्त्रास भएका बेला साँसदहरुको स्थानीय स्तरमा भएको यो पहिलो बैठक हो । जनता प्रति उत्तरदायी बन्दै सबै स्थानीय स्तरमा साँसद तथा जनप्रतिनिधिहरुले तदारुकता देखाउन आवश्यक छ ।