इटहरीः प्रदेश नम्बर १ सरकारले लकडाउन अवधिभर श्रमिक वर्ग भोकै नपरुन भन्ने उद्धेश्यले फुड बैंकको अवधारणालाई अनुमोदन गरेको छ । धरान उपमहानगरले केही दिन अघि देखि मात्र राहत संकलनमा एक रुपता ल्याउन फुड बैंक स्थापना गरेको थियो ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका स्थानीय तहहरुका लागि एक अपिल जारी गर्दै राहतका लागि फुड बैंक लगायत राहत संकलन केन्द्रहरु स्पष्ट रुपमा तोकी संकलन गर्ने र एकद्वार प्रणालीबाट मात्रै वितरण गर्ने व्यवस्था मिलाउने जनाएको छ ।
एक साता अघि कोशीपत्र दैनिक तथा पुर्वीब्युरोका निर्देशक योगेशबाबु काफ्लेको सुझावको आधारमा धरान उपमहानगरपालिकाले फुडबैंकको निति अवलम्बन गरेको थियो । फुडबैंकमा खाद्यान्नहरु पनि संकलन भइरहेको छ ।
मुख्यमन्त्री राईले जारी गरेको अपिलमा कोरोना भाइरस रोकथाम, प्रतिरक्षा र उपचारमा थप प्रभावकारी कदम चाल्नु पर्ने कुरालाई ह्रदयंग मगर्दै स्थानीय तहहरु सँगको समबन्ध, सम्पर्क, समन्वय र संयोजनको लागि कामलाई जिवन्त बनाई क्रियाशिल रहन आग्रह गरिएको छ । स्थानीय तहलाई गरिएको अपिलमा पालिका प्रमुखहरुको नेतृत्वमा स्थानीय सुरक्षा, प्रशासन, स्वास्थ्य केन्द्र, राजनैतिक दल, नागरिक समाज समेतलाई परिचालन गर्ने गरी समितीहरु बनाउन भनिएको छ ।
छिमेकी देश भारत र तेस्रो देशहरुबाट आएकाहरुको सिघ्र पहिचान खोजिकार्य गर्ने, होम क्वारेन्टाइन र अन्य क्वारेन्टाइनमा राख्ने, सबै तथ्यांक विवरण अविलम्ब प्रदेश निर्देशक समितीमा पठाउने व्यवस्था मिलाउने, लकडाउनको घडिमा विशेष हेरचाह गर्नु पर्ने गर्भवती, अपांगता भएका व्यक्ति, आमाबुबा गुमाएका टुहुरा, बालबालिका, अति विपन्न र दैनिक ज्यालादारीमा काम गर्नेहरुको लागत अविलम्ब संकलन गरी राहत वितरण कार्य शुरु गर्ने र सबै लगत विवरण प्रदेश निर्देशक समितीमा पठाउने जनाएको छ ।
तत्काल राहतका लागि रकमान्तर र स्रोतान्तर गरी खर्च गर्ने व्यवस्था मिलाउने, यस कार्यमा आर्थिक मामिला तथा योजना मन्त्रालयले आवश्यक सहजिकरण गर्ने, स्रोतको अभाव भई राहत वितरणमा समस्या पैदा भए तत्काल संघीय एवम् प्रदेश सरकारमा सम्पर्क, समन्वय र सहकार्यका लागि प्रस्ताव प्रस्तुत गर्ने, यस कार्यमा प्रदेशमा स्थापना गरिएको प्रदेश नम्बर १ कोरोना जनसुरक्षा कोष समेतको उपयोग गरिने र कोरोना सम्बन्धी तत्काल नागरिकको राहत उद्दार सम्बन्धी सुचना, उजुरी, गुनासो र सुझावका लागि प्रदेश सरकारले कोरोना सुचना डेस्क स्थापना गरेको जनाएको छ ।