इलामः चियाको राजधानी मानिएको सूर्योदय नगरपालिकाको कार्यपालिका बैंठकले सुरक्षाको विधि अपनाएर चिया टिप्न निर्देशन दिएपनि तत्कालै उद्योग भने संचालन नहुने भएको छ । नगरको चिया व्यवसायीहरुको साझा संस्था सूर्योदय टि प्रोडयुसर्स एशोसिएसनले विज्ञप्ती जारी गर्दै नगर कार्यपालिकाको बैंठकले निर्णय गरेता पनि तत्कालै उद्योग संचालन गर्न नसक्ने जनाएको हो । अध्यक्ष पुनम राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा उद्योग संचालनको पहललाई स्वागत गर्दै नगरपालिकाको निर्देशनमा उल्लिखित मापदण्ड पालना गरी उद्योग संचालन गर्न नसक्ने जनाएको छ । एशोसिएसनमा ६२ वटा उद्योग दर्ता भएका छन् ।
विज्ञप्तीमा सम्पुर्ण किसान, कर्मचारी, तथा सम्वन्धि सम्पुर्ण पक्षलाई धैय धारण गर्न अनुरोध गर्दै लकडाउन अवधिभर उद्योग संचालन गर्न नसकिने जनाइएको छ । नगरपालिकाले १८ वटा बुँदामा सचेत भएर मात्र किसान , उद्योगी र ब्यपारीलाई चिया टिप्ने र कारखानामा लैजाने काम गर्न मापदण्ड तयार पारेको थियो । नगरले चिया टिप्न जादा प्रत्येक चाररचार बुट्टा बिचको सामाजिक दुरी कायम गरेर मात्र चिया टिप्न पाउने जनाएको थियो ।
चिया टिप्ने किसान , मजदुर , उद्योगीले अनिवार्य मास्क , पन्जा , साबुन पानी र सेनीटाईजर अनिवार्य प्रयोग गर्न नगरले निर्देशन दिएको थियो । चिया टिप्न र चिया क्षेत्रमा काम गर्ने मजदुरले खाजा पानी समेत घरबाटै लैजानु पर्ने, दिउसो २ बजे सम्ममा किसानले चिया टिपेर संकलन केन्द्रमा लैजानु पर्ने र संकलन केन्द्रले साँझ ४ बजे सम्ममा उद्योगमा पु¥याई सक्नु पर्ने नगरले जनाएको छ ।
किसान र उद्योगले चिया ढुवानी गर्दा एक बोरामा ३० किलो ग्राम सम्म मात्र राख्नु पर्ने , कारखानामा ३ जना र ढुवानी गर्ने सवारी साधनमा २ जना मात्र मजदुर राख्नु पर्ने , श्रमीक र कामदारको विवरण अनिवार्य वडामा बुझाउनु पर्ने र समय समयमा कामदारको स्वास्थ्य परीक्षण गराई रहनु पर्ने नगरले सुचना प्रकाशन गरेको थियो । चिया बगान र मजदुरका बिषयमा नगरले बेला बेलामा अनुगमन समेत गर्ने भएको छ । इलाममा फस्ट फ्ल्सबाट बर्षेनी २५ देखी ३० लाख केजी हरियोपत्ती उत्पादन हुन्छ । जसबाट ५ लाख केजी भन्दा बढि तयारी चिया बन्ने गरेको छ ।