इटहरीः कैलालीको धनगढीमा आज भेटिएकी कोरोना भाइरस(कोभिड १९) संक्रमित ३४ बर्षीया महिलासंगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
अर्को व्यक्तिमा संक्रमण भएको पुष्टिसंगै नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको चिकित्सकहरुको भनाई छ । यसअघि वैदेशिक रोजगार र पढाईबाट तेस्रो मुलुकबाट फर्किएका नेपालीहरुमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको थियो । अब नेपाल भित्रै संक्रमण देखिसंगै थप सजग र सचेत हुन आवश्यक देखिएको चिकित्सकहरुको भनाई छ ।
उनिसंगै मुम्बईबाट कैलाली फर्किएका एक २१ बर्षीय युवक र भारतकै उत्तराखण्डबाट कनंञ्चनपुर फर्किएका ४१ बर्षीय पुरुषलाई पनि कोभिड १९ संक्रमण देखिएको छ । उनिहरु दुवै जना रोजगारीका लागि भारतका ती स्थानमा गएका थिए ।
आज संक्रमण पुष्टि भएकी ती ३४ बर्षीया महिलाको नाताले देवर पर्ने २२ बर्षीय युवक दुबईबाट काठमाडौं हुँदै कैलालीको धनगढी पुगेका उनलाई कोरोना देखिएको थियो। उनको अहिले पनि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। अस्ती मात्रै बागलुङकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको थियो । उनलाई डाक्टर आफैले गाडीमा हालेर अस्पताल ल्याएका छन् । उनी नेपालमा कोरोना भेटिने छैटौं व्यक्ति थिइन्।
उनी कतार एयरवेजको जहाजबाट गत चैत ४ मा दोहाबाट काठमाडौं आएकी थिइन्। कतारको एउटै उडानबाट नेपाल आएका तीनजनालाई कोरोना देखिइसकेको छ। उनी कतारको दोहाबाट भने कतार एयरवेजको क्युआर ६५२ नम्बरको उडानबाट काठमाडौं अवतरण भएकी उनको अहिले धौलागिरी अञ्चल अस्पतालमा उपचार हुँदैछ। त्यसअघि फ्रान्सबाट दोहा हुँदै काठमाडौं आएकी १९ वर्षीया युवती र बेल्जियमबाट त्यही मार्गबाट काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएको थियो।
दुबईबाट धादिङ आएका ३२ वर्षीय पुरुषमा पनि कोरोना भाइरस देखिएको थियो। अहिले उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्। सुरुमा चीनबाट आएका एक विद्यार्थीमा जनवरी २३ मा कोरोना संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइसकेका छन्। त्यसपछि ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि भने सरकारले देशभर लकडाउनको घोषणा गरेको छ। लकडाउन चैत्र २५ सम्मलाई गरिएको छ । यसैबीच आज दिउँसो ४ बजे मन्त्री परिषदको बैंठक बस्दैछ । बैंठकले आज एकै दिन भेटिएका ३ संक्रमित र नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमित भएको पुष्टि भएकाले यसको गम्भिर विश्लेषण गर्दै लकडाउनको समय बढाउने निर्णय हुने बालुवाटार श्रोतले जनाएको छ ।