दुहबीः सुनसरीको दुहबी नगरपालिकाले आइतवारबाट वडा मार्फत राहत वितरण शुरु गरेको छ । नगरपालिका भित्र दैनिक ज्यालादारीमा काम गरेर जिविकोपार्जन गर्ने र गरिबीको रेखामुनि रहेका विपन्न वर्गका परिवारलाई नगरपालिकाले खाद्यान्न सामाग्री वितरण शुरु गरेको हो ।
कोरोना भाईरसको फैलिँदो सङक्रमण र बढ्दो जोखिमबाट जोगिन जारी गरिएको लकडाउनमा असंगठित दैनिक ज्यालादारी गर्ने मजदुर र बिपन्न परिवारहरुका लागि नगरपालिकाले खाद्यान्न वितरण गरेको बताएको छ । नगरपालिकाले पहिलो चरणमा वडा नं. १ देखि वडा नं. १२ का ५ हजार घरपरिवारलाई खाद्यान्न वितरण गर्न सुरु गरेको हो ।
प्रत्येक वडा कार्यालयहरुबाट गरिएको लगत संकलनका आधारमा पहिलो चरणमा दुहबीका कुल ५ हजार घरपरिवारले खाद्यान्न पाउने दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले बताए । प्रत्येक घरपरिवारलाई २० किलो चामल, २ किलो दाल,१ लिटर तेल, स्वाबिन र नुन राहत स्वरुप वितरण गरेको उनले जनाए ।