धरानः कोरोना भए नभएको स्वाब टेष्ट गर्ने प्रदेश नम्बर एकको एक मात्र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना ल्याब टेष्टको पछिल्लो रिर्पोट सार्वजनिक गरेको छ । 

वीपीले आफ्नै ल्यावमा कोरोना संक्रमणको आशंका गरिएका बिरामीहरुको स्वाब परिक्षण गर्न थाले यता प्रदेश १ का ५० जनाको नमूना संकलन गरेको थियो । जसमा हालसम्ममा ४८ जनाको रिर्पोट आईसकेको छ । ४८ जनाकै स्वाब टेष्टमा रिर्पोट नेगेटिभ आएको प्रतिष्ठानका सह प्रवक्ता डा.अशोक ऐरले जानकारी दिए । उनका अनुसार अब २ जनाको रिर्पोट मात्र आउन बाँकी रहेको छ ।
प्रदेशको विभिन्न ठाउँबाट संकलन भएको १४ वटा स्वाबमध्ये आइतवार साँझ १२ वटा स्वाब मात्र परिक्षण गरिएको थियो । प्रतिष्ठानमा हरेक पटक १२ वटा स्वाब संकलन भएपछि मात्र परीक्षण हुने गरेको डा. ऐरले जनाए । वीपीमा आइतवारसम्मा २२७ जना सम्पर्कमा आएका छन् । ती मध्ये १४ जना सरकारी क्वारेन्टाइनमा पठाइएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार २०२ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रतिष्ठानको आइसोलेसनमा ११ जना उपचार पछि घर फर्किएका छन् । अहिलेसम्म प्रदेश नम्बर १ कोरोना संक्रमणका व्यक्ति नभेटिनु सुःखद पक्ष भएको डा. ऐरले बताए । उनले सरकारले लगाएको लकडाउनको पूर्ण पालना गर्न र सामाजिक दुरी कायम गर्न सबैमा आग्रह गरेका छन् ।