इटहरीः इटहरी उपमहानगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा नेकपा इटहरीले ४ लाख ५५ हजार नगद र २ हजार किलो चामल प्रदान गरेको छ । मंगलवबार पार्टीका तर्फबाट इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीलाई सो राहत प्रदान गरिएको नेकपा इटहरीका सह इन्र्चाज भीम सुवेदी सागरले बताए ।
ल्कडाउनका बेला अति विपन्न परिवारलाई भोकै नराख्ने उद्धेश्यले उपमहानगरले स्थापना गरेको कोषमा सहयोग वापत सो रकम र चामल प्रदान गरेको सुवेदीले बताए ।
कोरोना भाइरस कोभिड १९का कारण नेपाल लकडाउन भएकाले आफ्ना उपमहानगरका नागरिकलाई इटहरी उपमहानगरपालिकाले राहत वितरण गरिरहेको छ । सुवेदीका अनुसार सो रकम नेकपा इटहरीले आफ्ना नेता तथा कार्यकर्ताबाट सङ्कलनगरी उपलब्ध गराएको हो । संकटको बेला इटहरी उपमहानगरलाई आवश्यक परे थप सहयोग गर्न पार्टी तयार रहेको सुवेदीले जनाए ।
इटहरीमा दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै बसोबास गर्ने विपन्न परिवारको सङ्ख्या ५० प्रतिशत भन्दा बढी रहेकाले नेकपाले इटहरी सरकारमार्फत सहयोग गर्ने नेकपा इटहरीका अध्यक्ष बहादुर सिङ तामाङले जानकारी दिए ।यस सङ्कटको घडीमा आवश्यकता बढ्दै गए थप सङ्कलन गरी इटहरी उपमहानगरपालिकालाई सहयोग गर्न नेकपा इटहरी तयारी अवस्थामा रहेको उनले बताए ।