इटहरीः कोरोना भाइरस( कोभिड १९ ) नियन्त्रण कार्यमा खटिनेहरुको कोरोना संक्रमणका कारण मृत्यु भएमा उसका परिवारलाई ५० लाख दिने निर्णय प्रदेश सरकारले गरेको छ ।
मंगलवार प्रदेश नम्बर १ सरकारको बसेको मन्त्रिपरिषद बैंठकले ५० लाख प्रदेश सरकारका तर्फबाट परिवारलाई दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिएका छन् ।
कोरोना भाइरस (कोभिड (१९) को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न सरकारी वा गैर सरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी¸ सुरक्षाकर्मी¸ एम्बुलेन्स चालक¸ स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको त्यसरी खटाएको अवस्थामा कोरोना रोगको कारणबाट मृत्यु भएमा निजको परिवारलाई निजले गरेको सेवाको कदर स्वरुप प्रदेश सरकारको तर्फबाट एकमुष्ट रु. ५० लाख प्रदान गर्ने निर्णय गरेको उनले बताए ।
त्यसैगरि आजैको बैंठकले कोरोना भाइरस (कोभिड१९) नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिहरूलाई नेपाल सरकारले निर्धारण गरे बमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय पनि गरेको छ ।