इटहरीः धरान उपमहानगपालिकाका मेयर तिलक राईले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र पदाधिकारीहरुलाई विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्न प्रतिशत तोकेरै  पत्र पठाएको बिषय विवादित भईरहेको बेला इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले भने इटहरीका डाक्टरहरुलाई उपमहानगरपालिका तर्फबाट अतिरिक्त भत्ता दिने घोषणा गरेका छन् । मेयर चौधरीले बिहिबार स्वास्थ्यकर्मीलाई १०० प्रतिशत भत्ता दिने घोषणा गरेका हुन् ।
मेयरले इटहरी उपमहानगरले जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई सतप्रतिशत सम्म जोखिम भत्ता दिने निर्णय गरेको उपमेयर लक्ष्मी गौतमले बताइन् । उपमेयर गौतमका अनुसार क्वारेण्टाइनमा खट्ने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई खाइपाइ आएको तलब जति नै शतप्रतिशत जोखिम भत्ता दिइने छ ।

अस्पताल र स्वास्थ्य संस्थाहरुमा खट्ने स्वास्थ्यकर्मीलगायतलाई ७५ प्रतिशत र प्रशासनका कर्मचारीहरुलाई ५० प्रतिशत भत्ता दिइने निर्णय समेत भएको उपमेयर गौतमले बताइन् । उपमेयर गौतमले मेयरले गरेको निर्णय आफ्नो फेसबुक पेंजमा हाल्दै मेयर चौधरीलाई धन्यवाद समेत दिएकी छन् ।