इटहरीः नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले कोरोना प्रभावितहरुलाई सहयोगका लागि ३० लाख ३६ हजार रकम प्रदान गरेका छन् । आफ्नो गाउँ तथा आफुले चुनावमा प्रतिस्पर्धा गरेको मोरङको क्षेत्र नं.३ का कोरोना प्रभावितहरुलाई राहतका लागि डा.शर्माले यत्ति ठूलो रकम सहयोग गरेका हुन् । यो रकम १ नम्बर प्रदेशमा हालसम्म एकै व्यक्ति वा सस्थाले प्रदान गरेको मध्ये सर्वाधिक ठूलो सहयोग राशि हो ।
क्षेत्र नं.३ मा पर्ने बेलबारी, पथरी शनिश्चरे र सुन्दरहरैंचा नगरपालिका कार्यालयको राहत कोषमा जम्मा हुँनेगरी डा.शर्माले उक्त रकम बिहिबार बेलबारीमा नगर प्रमुखहरुलाई हस्तान्तरण गरेका हुन् । उनले बेलबारीका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई ११ लाख ७५ हजार, पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राईलाई ९ लाख ८६ हजार र सुन्दरहरैंचा नगर प्रमुख शिवप्रसाद ढकाललाई ८ लाख ७५ हजारको चेक हस्तन्तरण गरे । चेक हस्तान्तरण पछि बोल्दै डा.शर्माले यो संकटका बेला आफ्नो ठाउँका कोरोना प्रभावित गरिब, दुखीलाई राहत पुर्याउँन सहयोग गरेको प्रतिक्रिया दिए । ‘मेरो हजुरवुवाले पनि बिफरको महामारीका क्रममा ज्यान गुमाउँनु पर्यो । अहिले कोरोनाको महामारी र संकटका क्रममा यो क्षेत्रका गरिब दुखीले अभावमा ज्यान गुमाउँनु नपरोस् भनेर सहयोग गरेका हुँ ।’ उनले भने ‘यो रकम कुनैपनि राजनीतिक पूर्वाग्रहरहित हिसावले बास्तविक दुःखी गरिब कोरोना प्रभावितसम्म पुर्याईदिनुहोस् ।’
राहत ग्रहण गर्दै सुन्दरहरैचा नगर प्रमुख ढकाल र बेलबारीका नगर प्रमुख सुवेदीले धन मात्र नभई ठूलो मन भएको व्यक्तिका रुपमा डा.शर्मालाई चिनाउँदै उनको सेवा भावको खुलेर प्रशंसा गरे । उनीहरुले यो राहत रकम नगरक्षेत्रका दुखी गरिब र बास्तविक कोरोना प्रभावितसम्म पुर्याउँने प्रतिवद्धता पनि जनाए । डा.शर्मा यसअघिको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसको तर्फबाट सो क्षेत्रमा चुनाव लडेका थिए । कम्यूनिष्टको लालकिल्ला मानिने सो क्षेत्रबाट ४० हजार ६ सय ७ मत प्राप्त गरेर पनि बाम गठबन्धनका उम्मेद्वार भानुभक्त ढकालसँग उनी पराजित भए । बिजयी ढकाल अहिले स्वास्थ्य मन्त्री छन् ।