धरानः प्रदेश नम्बर १ का तीन जिल्लामा खुल्ला सिमा भएका कारण कोरोना संक्रमण जोखिम उच्च रहेकाले विराटनगरमा र्यापिड टेष्टको तयारी थालिएको मुख्यमन्त्री शेरधन राईले बताए । त्यसका लागि आवश्यक सामाग्री हिजो(बिहिबार) काठमाण्डौंबाट हेलिकप्टरमार्फत विराटनगर ल्याइएको उनले बताए ।
उनले कोरोनाको संक्रमणबाट बच्न प्रदेश १ मा जोडिएका भारतीय सबै सिमानाकाहरुमा उच्च सर्तकता अपनाउँदै र्यापिड टेष्टको तयारी गरेको बताए ।
धरान उपमहानगरपालिकाको राहत वितरणको अनुगमनका क्रममा धरान आएका मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । उनले खुल्ला सिमा भएकाले पनि लाखौंको संख्यामा भारतमा रहेका नेपालीहरु प्रवेश गर्ने भएकाले प्रदेश उच्च जोखिममा रहेको हेक्का राखेर तिब्र गतिमा ठुलो परिणाममा स्वाब परिक्षणको तयारीमा रहेको बताए ।
उनले भने, ‘टेक्निसियनले जडान गरे पछि ९०÷१०० को हाराहारीमा विराटनगरबाट परिक्षणको काम शुरु हुन्छ । र्या्पिड टेस्टको निम्ति लगभग ५ हजार किट झिकाईसकेका छौं । ५÷७ दिन भित्रमा करिब ५ हजारको संख्यामा परिक्षण गर्न सक्छौं ।’
कोरोना भाइरस सँग सुरक्षित रहनु लकडाउन कार्यान्यवन नै भएकाले सबैले पालना गर्नुपर्ने अनिवार्य रहेको बताउँदै सबैलाई सचेत रहन उनले आग्रह गरेका छन् ।
झापा, मोरङ, सुनसरीका खुल्ला सिमा नाकाबाट दैनिक जसो नेपालीहरु आउने क्रम बढेकाले जोखिम नियन्त्रणका लागि सुरक्षा निकायका ३ वटै संयन्त्रलाई परिचालन गरिएको मुख्यमन्त्री राईले बताएका छन् ।
उनले भने, ‘पुरै सावधानी अपनाएका छौं, निरन्तर सुरक्षा, बैठक बसिरहेका छौं, सिमाहरुलाई शतप्रतिशत लक गर्नको निम्ती सम्पुर्ण नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी लगायतका सुरक्षा निकायलाई परिचालन गर्ने तयारीमा छौं । ’
धरान उपमहानगरपालिकाको राहत वितरणको अनुगमन गर्दै मुख्यमन्त्री राईले राहत वितरणलाई पनि प्राथमिकतामा राखेको बताए । स्थानीय निकायको कोष रित्तिदै गए पछि प्रदेश सरकारको तर्फबाट राहतका लागि बजेट प्रदान गर्न तयार रहेको उनले बताए ।
उनले भने, ‘पहिलो चरणमा स्थानीय निकायले राहत वितरण गर्ने, सम्पुर्ण जवाफदेही स्थानीय नै हुँन्छ । जब स्थानीय तहमा राहत रित्तिदै जान्छ, कोष रित्तिदै गए पछि आफु संग भएको लगत र आवश्यक राहतका लागि प्रदेश सरकारलाई प्रस्ताव गर्न भनेका छौं । सोही बमोजिक प्रदेश सरकार तयारी अवश्थामा छौं ।’ छिट्टै नै पालिकाहरुमा बजेट पठाउने तयारी गर्ने उनको भनाई छ ।
स्वास्थ्य क्षेत्रमा फ्रन्ट लाइनमा बसेर काम गर्ने चिकित्सक लगायत कर्मचारीहरु कोरोनाको संक्रमणबाट मृत्यु भएमा ५० लाख रुपैया दिने घोषणा मंगलबार नै गरिसकेको जानकारी गराउँदै संक्रमणबाट सुरक्षा अपनाउन पनि प्रदेशवासीलाई उनले आग्रह गरेका छन् ।