इटहरीः सुनसरीका सरकारी अस्पतालहरुमा स्वास्थ्यकर्मीहरु व्यक्तिगत सुरक्षा सामाग्रीको अभावमा जोखिम मोलेर काम गर्न बाध्य भएको पाइएको छ । सुनसरीमा रहेका ३ वटा सरकारी अस्पताल पुग्दा सबै ठाउँका स्वास्थ्यकर्मीहरुले पीपीई, एन नाइन्टिफाइभ मास्क लगायतका सुरक्षा सामाग्रीको अभाव रहेका कारण आफुहरु त्रसित र जोखिममा रहेको गुनासो गरेका छन् । विश्वव्यापीरुपमा कोरोना भाइरसको संक्रमण रहेको र नेपालमा समेत संक्रमितको संख्या बढीरहेका बेला सबैभन्दा जोखिममा रहेका स्वास्थ्यकर्मीहरुले आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री नहुँदा जोखिम मोलेर काम गरिरहनु परेको गुनासो गरेका हुन् ।
सुनसरीको इटहरीस्थित इटहरी अस्पताल, इनरुवास्थित जिल्ला अस्पताल र धरानस्थित वीपी प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुले नेपाल चिकित्सक संघ र सञ्चारकर्मीसहितको टोलीसमक्ष व्यक्तिगत सुरक्षा सामाग्री नहुँदा जोखिम मोलेर काम गरिरहनु परेको र आफुहरु त्रासमा रहेको गुनासो गरेका हुन् । तीन वटै अस्पतालका स्वास्थ्यकर्मीले पीपीइ, एन नाइन्टिफाइभ मास्क लागयतका सामाग्रीको अभाव हुँदा आफूहरु जोखिममा रहेको गुनासो गरेका छन् ।
जिल्ला अस्पताल सुनसरीः जनशक्ति र सुरक्षा सामाग्री अभाव
जिल्ला अस्पताल सुनसरीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्तोष राईले प्रदेश सरकारबाट केही थान पीपीइ पाएपनि त्यो पर्याप्त नभएको गुनासो गरे । सुनसरी सदरमुकाम इनरुवामा रहेको जिल्ला अस्पताल सुनसरीमा खासगरि भारतीय क्षेत्रबाट समेत मानिसहरु आउनसक्ने भएकाले अन्य क्षेत्रमा भन्दा यहाँका स्वास्थ्यकर्मीहरु निकै असुरक्षित रहेको उनँको भनाइ छ । जिल्ला अस्पताल सुनसरीमा एकातर्फ जनशक्तिकै अभाव रहेको छ भने आवश्यक स्वास्थ सामाग्रीको समेत अभाव रहेको पाइएको छ । जनशक्तिका साथै पीपीइ र मास्क लगायतका सुरक्षा सामाग्रीको अभावका कारण सेवा प्रवाह गर्न कठिनाइ भइरहेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राईले गुनासो गरे । उनले तत्काल आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री र जनशक्ति समेत उपलब्ध गराउन माग गरे ।
अस्पतालको आइसोलेसनमा बाँसको भर्याङ
जिल्ला अस्पताल सुनसरीले अस्पतालमा आएका विरामीको थ्रोड स्वाब संकलन गर्न तथा त्यसको रिपोर्ट नआएसम्म संकास्पद व्यक्तिलाई राख्नका लागि ४ बेडको आइसोलेसन र थ्रोड स्वाब संकलन कक्ष समेत निर्माण गरेको छ । तर जिल्ला अस्पताल सुनसरीमा निर्माण गरिएको आइसोलेसन भवनमा रोचक दृश्य देख्न सकिन्छ । जिल्ला अस्पताल सुनसरी परिसरमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको पुरानो भवनलाई आइसोलेसनको रुपमा तयार गरिएको छ । जसको तल्लो तलामा ४ बेडको आइसोलेसन कक्ष छ भने माथिल्लो तलामा स्वाव संकलन कक्ष छ । जहाँ जानका लागि २ वटा भर्याङ हुनुपर्नेमा एउटा भर्याङ पक्की नै छ भने अर्को भर्याङको रुपमा गाउँघरमा बनाइएको बाँसको कच्चा भर्याङ प्रयोग गरिएको छ । भवनको झ्यालको गृल निकालेर बाँसको भर्याङबाट माथि जाने बाटो बनाइएको छ । जुन भर्याङबाट माथि चढ्न कतिपयलाई त समस्या समेत हुन्छ । आइसोलेसन जस्तो संवेदनशील ठाउँमा बाँसको कच्चा भर्याङ देख्दा जो कोहीलाई पनि हाँस्यास्पद लाग्छ । जुन ठाउँमा फलामको भर्याङ बनाएर व्यवस्थि गर्न सकिन्थ्यो । यता अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट राईले भने श्रोत साधनको अभावका कारण यस्तो गर्नु परेको दुःखेसो पोखे ।
इटहरी अस्पतालमा एउटा पनि पीपीइ छैन
यता इटहरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मनिस कुमार शर्माको गुनासो समेत उस्तै छ । इटहरी अस्पतालमा हालसम्म प्रदेश सरकारबाट ५ थान पीपीइ प्रदान गरिएकोमा एउटा तालिमका क्रममा सकिएको र अन्य ४ वटा समेत इटहरीस्थित क्वारेन्टाइका लागि लगिएकाले अस्पतालमा पीपीइ समेत नभएको उनको भनाइ छ । “पाँच वटा पीपीई प्रदेशले दिएको थियो, एउटा सकियो, ४ वटा क्वारेन्टाइनमा छ अरु आएको छैन ।” शर्माले भने, “पालिकाले झिकाउन खोजेको भन्ने कुरा छ तर कहिले आउँछ थाहा छैन, एन नाइन्टिफाइभ मास्क पनि नभएकाले सर्जिकल मास्क लगाइरहेका छौं ।” पीपीइ नहुँदा विरामीलाई टाढैबाट उपचार गर्न बाध्य हुनु परेकाले भरपर्दो उपचार दिन नसकिएको उनँले बताए । नगरपालिकाले स्वास्थ्यकर्मीलाई सतप्रतिशत भत्ता दिने निर्णय गरेर केही उत्साह थपेपनि आवश्यक सुरक्षा सामाग्री नहुँदा जोखिम रहेको शर्माले गुनासो गरे ।
वीपी प्रतिष्ठानमा समेत पीपीइ र मास्ककै चिन्ता
अन्य अस्पताल भन्दा सुविधा सम्पन्न अस्पतालको रुपमा रहेको वीपी प्रतिष्ठान धरानका स्वास्थ्यकर्मीहरुले समेत पीपीई र एन नाइन्टिफाइभ मास्कको अभावका कारण जोखिम रहेको गुनासो गरेका छन् । वीपी प्रतिष्ठान धरानका जेनेरल प्राक्टिस एण्ड इमरजेन्सि मेडिसिन इञ्चार्ज प्रोफेसर डा. ज्ञानेन्द्र मल्लले एउटा एन नाइन्टिफाइभ मास्कको समेत समस्या हुनु लज्जास्पद रहेको बताए । उनले हरेक दिन र्यापिड रेस्पोन्स टिमको बैठकमा पीपीइको कुरा हुने गरेपनि आवश्यक मात्रामा उपलब्ध नहुँदा समस्या भएको गुनासो गरे । “सबै भन्दा पहिले त हामी त्रासमा छौं, सिम्पल एन नाइन्टिफाइभ मास्कको कमी छ । पेसेन्टको फ्लो धेरै छ ।” प्रो डा. मल्लले भने, “२१ दिन भयो अरआरटीको मिटिङ हरेक दिन पीपीइ बाटै सुरु हुन्छ अनि पीपीइमै पुगेर अन्त्य हुन्छ ।”
नेपाल चिकित्सक संघको अनुगमन जारी
नेपाल चिकित्सक संघले प्रदेश १ का विभिन्न स्वास्थ्य संस्थाहरुको अनुगमन गर्ने क्रममा सञ्चारकर्मीसहित विभिन्न अस्पताल पुग्दा यस्तो गुनासो पाइएको हो । संघका केन्द्रीय सदस्य डा.विपेश आचार्यले स्वास्थ्यकर्मीहरु नै जोखिममा रहनु दुःखद् भएको बताए । उनले सरकारले तत्काल स्वाथ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामाग्री प्रदान गर्नुपर्नेमा जोड दिए । स्वास्थ्यकर्मीले नै सुरक्षा सामाग्री नपाउँदा स्वयम् स्वास्थ्यकर्मी, तिनका पारिवारका साथै स्वास्थ्य उपचारमा आउने सर्वसाधारण समेत जोखिममा पर्ने उनको भनाइ छ । “यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरु आफु त जोखिममा रहन्छन् नै उनीहरु रोग फैलाउने माध्यम समेत बन्ने सम्भावना देखिएको छ” डा. आचार्यले भने । विभन्नि दाताहरुले पीपीइ लागयतका स्वास्थ्य सामाग्रीहरु सरकारलाई प्रदान गरेपनि स्वाथ्यकर्मीहरुसम्म आइनपुग्नु दुःखद् भएको उनको भनाइ छ ।
कोरोना भाइरसको जोखिम रहेको वर्तमान अवस्थामा नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुको अवस्था बुझ्ने क्रममा डा. आचार्य नेतृत्वको टोलीले प्रदेश १ का स्वास्थ्य संस्थाहरुको अनुमगन जारी राखेको छ । झापा र सुनसरीमा अनुगमन गरिसकेको र अब मोरङका स्वास्थ्य संस्थाहरुको समेत अनुगमन गरि अनुगमनका क्रममा भेटिएका समस्याहरु समाधान गर्न चिकित्सक संघले पहल कदमी लिने डा. आचार्यले बताए ।