इटहरी: काभ्रेका दुई युवामा मंगलबार र्‍यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको छ ।
भारत र दुबईबाट आएका काभ्रेका दुई युवामा कोरोनाको एन्टिबडी देखिएपछि धुलिखेल अस्पतालमा भर्ना गरिएको छ ।
ती युवक बिदेशबाट आएर दुई दिन घरमै बसेका थिए। त्यसपछि नगरपालिकाले उनलाई क्वारेन्टाइनमा राखेको थियो । उनको परिवारमा भएका चार जना सदस्यको पनि परीक्षण गर्ने तयारी गरिएको छ।
दुबैजना नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा २२ दिन बसेर कुनै लक्षण नदेखिएपछि घर गएको बताइएको छ ।
उता धादिङको ज्वालामुखी गाउॅँपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षीय युवकको र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको छ । ज्वालामुखी–३, अमराई निवासी ती युवक गत फागुन २० गते दक्षिण कोरियाबाट नेपाल फर्किएको खुलेको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार थप परिक्षणका लागि उनलाई सदरमुकामस्थित अस्थायी आइसोलेसनमा राखेर स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइनेछ। फागुन २० मै नेपाल आएका उनलाई चैत २÷३ गते नै ज्वरो आएको भएपनि वास्ता नगरी बसेका थिए ।
त्यस्तै सप्तरीका दुई ब्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरु दिल्लीको निजामुद्दीन स्थित तबलिकी जमातमा सहभागी भएर फर्केका थिए । उक्त जमातमा सहभागी भएका सप्तरीका आठ जना मध्ये दुईजनामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणबाट दुई जना कोरोना पोजेटिभ देखिएको हो ।
उनीहरुको थ्रोट स्वाब लिएर पीसीआर टेष्टका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

गत मार्च ८ र ९ तारिखमा नयाँ दिल्लीको निजामुदिन मस्जितमा आयोजित मर्कज भनिने धार्मिक मेलामा भाग लिएर उनीहरु जमातीका रुपमा सप्तरी आइपुगेका थिए । स्थानीय प्रशासनका अनुसार दिल्लीबाट फर्किएदेखि उनीहरु घरमा नै थिए ।