इटहरीः कोरोना भाइरसका शंकास्पद व्यक्ति र विरामीहरुको उपचारका लागि तयार भएका सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामाग्रीहरुको अभाव भएको खबर सार्वाजनिक भएसंगै प्रदेश नम्बर एक का सांसद लिलम बस्नेतले आज इटहरी अस्पताललाई बिभिन्न स्वास्थ्य सुरक्षा सामाग्रीहरु प्रदान गरेका छन् ।
सांसद बस्नेतले आज इटहरी अस्पताललाई स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाका लागि अति आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री(पिपिई) प्रदान गरेका छन् । उनले पिपिईसंगै एन ९५ मास्क र पन्जा प्रदान गरेको इटहरी अस्पतालका इमेरजेन्सी इन्र्चाज रामकुमार धमलाले बताए ।
उनका अनुसार प्रदेश सांसद बस्नेतले ती ईटहरी अस्पतालका अध्यक्ष भुपेन्द्र वराललाई हस्तान्तरण गरेका हुन् । सांसद बस्नेतले ती सामाग्री व्यक्तिगत पहलमा प्रदेश १ सामाजिक विकास मन्त्रालयबाट ल्याएका हुन् । पिपिईको अभाव भई जोखिम बढीरहेको वेला हस्तान्तरण गरिएको सामाग्रिहरु फ्रन्ट लाईनको स्वास्थ्यकर्मीलाई उपलव्ध गराईने ईटहरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मनिषकुमार शर्माले बताएका छन् ।