इटहरीः एक महिना अघि दुबईबाट आएका झापाका एक व्यक्तिमा र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा पोजेटिभ देखाएको छ । बुधबार गरिएको टेष्टमा झापा हल्दिबारीका उनको रिर्पोट पोजेटिभ आएको हो । आरडिटी परीक्षणमा रगतमा एन्टीबडी फेला परेपछि उनमा कोरोना भाइरस संक्रमण हो, होइन थप परीक्षणको लागि स्वाब बुधबार नै विराटनगर ल्याइएको छ ।
र्यापिड डाइग्नोस्टिक टेस्ट देखिएपपि ती युवकसहित परिवारका चार सदस्यको स्वाब संकलन गरेर विराटनगर ल्याएको छ । विराटनगरको कोशी अस्पतालमा पिआरसी बिधिबाट स्वाब परीक्षण भएपछि मात्र उनमा कोरोना भए नभएको यकिन हुने सामाजिक विकास मन्त्रालयले जनाएको छ । र्यापिड डाइग्नोस्टिक टेस्टमा पोजेटिभ रिर्पोट आएको घटना प्रदेश १ मा पहिलो हो ।
रोजगारको शिलशिलामा दुबईमा रहेका उनि एक महिनाअघि फर्किएका थिए । उनी घरमै क्वारेन्टाइनमा बसेको बुझिएको छ । हल्दिबारी गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले पनि ती युवाको परीक्षण गर्दा शंकास्पद नतिजा देखिएको बताएका छन् । उनले सबैलाई सचेत हुन आग्रह गरेका छन् । यो नै रिर्पोट अन्तिम नहुने भएकोले थप परिक्षणका लागि परिवारकै स्वाबको नमुना पठाएको गाउँपालिकाले जनाएको छ ।
हल्दिवारी गाउँपालिकामा विदेशबाट आएका ४ जना क्वारेन्टाइनमा र ५१ जना होम क्वारेन्टाइनमा बस्दै आएका छन् । हल्दिवारीमा ७० जना भन्दा बढी व्यक्ति दुबई, कतार, मलेसिया, बराइन, ओमन लगायतका देशबाट फर्किएको गाउँपालिकाले जनाएको छ ।
आरडीटीमा पोजिटिभ हुनेबित्तिकै स्वाब परीक्षणको परिणाम पनि पोजिटिभ नहुने यसअघि देखिसकेको छ । चिकित्सकहरुका अनुसार पहिले कोरोनाको संक्रमण भएको र रोग प्रतिरोध क्षमताको कारण त्यसलाई परास्त गरेकाहरुको रगत परीक्षणमा आरडिटी पोजेटिभ देखिन्छ । पछिल्लो पटक र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा कैलालीकी एक महिलाको नेगेटिभ रिपोर्ट आएकोमा पिसिआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ मंगलबार सप्तरीसहित विभिन्न जिल्लाका ६ जनामा आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएकोमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाले हल्दिबारीमा ५५ जनाको आरडीटी गरिएको जनाउँदै पोजेटिभ केसबारे जानकारी दिन चाहेको छैन । त्यहाँबाट १९ जनाको थ्रोट स्वाब संकलन गरी कोशी अस्पताल विराटनगर पठाएको छ ।