धरानः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १०० बेड आइसोलेसनसहितको कोभिड १९ उपचार केन्द्र सञ्चालनमा आउने भएको छ ।
प्रतिष्ठानमा रहेको पुर्नस्थापना केन्द्रलाई कोभिड १९ उपचार केन्द्रमा परिणत गरिन लागेको हो । सय बेड आइसोलेन हुने यो उपचार केन्द्रमा १० बेडभन्दा बढी आइसियु पनि रहने छ ।
बैशाख १३ गतेभित्र अनलाइनबाट नै प्रतिष्ठानको विभिन्न सेवा प्रवाह गर्न मोवाइल एप्स पनि तयार भइरहेको छ । यो मोवाइल एप्स तयार भएपछि प्रतिष्ठानमा पुर्जी काट्न, विल पेमेन्ट गर्न मात्र होइन, रिपोर्ट पनि अनलाइनबाट नै लिन सकिने प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले बताए । उनका अनुसार अनलाइन गर्ने वित्तिकै प्रतिष्ठानमा भईरहेको भीडभाड पनि स्वत हट्ने र लामो समय खर्च गरेर लाइनमा बस्नु पर्ने समस्याको पनि अन्त्य हुने गिरीले विश्वास लिएका छन् । प्रतिष्ठानमा बैंठक गर्न र शैक्षिक कार्यक्रम गर्न सफ्टवेयर प्रयोग गर्ने तयारी अन्तिम अवस्थामा रहेको गिरीले जनाए ।
अहिले वीपी प्रतिष्ठानले कोभिड १९ का शंकास्पद विरामीहरुलाई कोरोना हेल्प डेस्कमा स्क्रिनिङ गरिरहेको छ । पेइङ वार्डलाई आइसोलेसन वार्डमा परिणत गरेर उपचार गरिरहेको छ । प्रतिष्ठानले फिवर क्लिनिक पनि सञ्चालन गरिरहेको छ । वीपी प्रतिष्ठानको माइक्रोबायोलोजी विभागले पिसिआर विधिबाट थ्रोट स्वाबको परीक्षण पनि गरिरहेको छ ।
प्रतिष्ठानको आकस्मिक कक्ष, बच्चाको आकस्मिक कक्ष र गाइनोबाट उपचार सेवा प्रवाह भइरहेको छ । प्रतिष्ठानले कोरोना भाइरसको संक्रमणका कारण केही समयका लागि ओपिडी सेवा भने रोकिएको छ ।