इटहरीः कोभिड १९ को संक्रमण भई अस्पतालमा उपचार गराई रहेकी एक युवती २७ दिनपछि निको भएर शनिवार(आज) घर फर्किएकी छन् ।
चैत्र १० मा कोभिड १९ पोजेटिभ देखिएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भई आइसोलेसनमा उपचार गराईरहेकी काठमाडौंकी १९ वर्षीया युवती प्रशिद्धि श्रेष्ठ आज निको भई डिस्चार्ज भई घर फर्किएकी हुन् ।
सो अस्पतालमा उपचार गराईरहेकी उनको पछिल्लो पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले शनिवार( आज) उनलाई डिस्चार्ज दिएको हो । उनको पछिल्लो स्वाब रिपोर्टमा संक्रमण नदेखिए पछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । काठमाडौंको मैतीदेवी निवासी उनी डिस्चार्ज भएपछि उनलाई लिन परिवारका सदस्यहरु अस्पताल आएका थिए । उनि गत ४ चैतमा फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको उडान नम्बर ६५२ बाट काठमाडौं आइपुगेकी थिइन ।
कोरोना भाइरसको संक्रमणमा परेकी १९ वर्षीया युवतीको परिवारका सदस्यहरुको यसअघि नै रिपोर्ट नेगेटिभ आइसकेको अस्पतालका डा. अनुप बाँस्तोलाले बताए ।
गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै फर्किएकी युवतीसँग यात्रा गरेका १५८ जना यात्रुको विवरण प्रहरीले लिइसकेको छ। उनीसँग एउटै जहाजमा सवार १५८ यात्रुलाई प्रहरीले सम्पर्क गरेर क्वारेन्टाइनमा राखेको छ। चैत ४ गते फ्रान्सबाट कतार हुँदै कतार एयरवेजको बिमानमा आएकी उनलाई कोभिड पोजिटिभ देखिएपछि टेकू अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।
कतारको उडान नम्बर ६५२ मार्फत आएका उनीसहित तीन यात्रुलाई कोरोना भएको थियो। उनी कोभिड १९ पोजेटिभ पुष्टि भएको २७ दिनपछि डिस्चार्ज भएकी हुन्। यसअघि नेपालमा पहिलो कोभिड १९ चीनको बुहानबाट फर्किएका पुरुष निको भएर घर फर्किसकेका छन् । उनलाई जनवरी २३ तारिखमा कोरोना पुष्टि भएको थियो। अहिलेसम्म नेपालमा ३० जनामा कोरोना देखिइसकेको छ। जसमा सबैभन्दा धेरै उदयपुरको मस्जिदमा बसेका १२ जनामा कोरोना पाइएको छ। नेपालमा कोरोन भेटिएकामध्ये १२ जनाको बिराटनगरमा, पाँचजनाको सेती अस्पतालमा, चारजनाको वीरगञ्जस्थित नारायणी क्षेत्री अस्पतालमा, २ जनाको बागलुङमा र एकजनाको टेकु अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

prasiddi-shrestha-corona-virus_nExM53Qfvp