विराटनगरः उदयपुरको त्रियुगा नगरपालिका ३, भुल्केमा ‘कसरी र कसको माध्यमबाट कोरोना भाइरसको संक्रमण समुदायसम्म पुग्यो ?’ निकै द्विविधा र आशंकाबीच अहिले यो प्रश्न तेर्सिएको छ ।

कोसी अस्पताल विराटनगरका एक वरिष्ठ चिकित्सकका अनुसार “हाल अस्पतालमा उपचारमा भइरहेका भारतीय निकै पहिले नै नेपाल आएका थिए अर्थात् चार महिनाअघि । यसो हो भने कतै उनीहरू नै समुदायमा पहिल्यै भएका कोही संक्रमितबाट संक्रमणको चपेटामा त परेका होइनन् ?”
कोरोना संक्रमित देखिएका नुरी मस्दिजमा बसेका ११ भारतीय र उनीहरूसँगै रहेका दुई नेपाली मुस्लिममा वैशाख पहिलो साता पहिलोपटक संक्रमण पुष्टि भएको थियो । योसँगै ‘पक्कै ! उनीहरूकै माध्यमबाट समुदायस्तरसम्म संक्रमण फैलन गएको हो’ भन्ने धेरैले अड्कलबाजी गरे । प्रहरी प्रशासनको अनुमान पनि त्यस्तै थियो तर, जिल्ला प्रहरी कार्यालय उदयपुरले बस्तीमा रहेकाहरूको लगत संकलन र तथ्य खोजी गर्दै जाँदा टोलमा विदेशबाट आएका तीनजना फेला परे । मंगलबारको पीसीआर परीक्षणमा तीनैजनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यही आशंकाबीच फागुन ११ गते दुबईबाट आएका र भारतको राजधानी नयाँदिल्ली तथा उत्तरप्रदेशबाट आएका भनिएका दुई युवामा कोरोना संक्रमण देखिएको छ । चिकित्सकले ‘के उनीहरूबाटै समुदायमा संक्रमण त फैलिएन ?’ भन्ने आशंका गर्न थालेका छन् । उसो भए के ‘उदयपुरको भुल्केमा मस्जिदका जमातीभन्दा पहिल्यै संक्रमण पुगिसकेको थियो त ?’ अब प्रश्न उठेको छ ।

मुस्लिम जमाती अथवा संक्रमित युवा कोबाट कसरी संक्रमण फैलिन गयो भन्ने जवाफ अहिल्यै खुट्याउन कठिन छ । तर, त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले २२ दिन पहिल्यै प्रदेश सरकारलाई कोरोना परीक्षण गरिदिन आग्रह गरेका थिए । चौधरी भन्छन्, “बाहिरका मानिसको उपस्थिति देखियो । हामीले २२ दिनअघि नै परीक्षण गरिदिनुस् भनेका थियौं तर सरकारले सुनेन अथवा ध्यानै दिएन । अहिले अवस्था भयावह बन्न पुग्यो ।” संक्रमित पहिल्यै भुल्केमा थिए भन्ने आशंकामा उनको अभिव्यक्तिले पनि बल दिन्छ ।

93683498_1320450751487187_5062247470965194752_n

तर उनको यो दाबीलाई भने सामाजिक विकासमन्त्री जीवन घिमिरेले ठाडै अस्वीकार गरेका छन् । मन्त्री घिमिरेले भने, “औपचारिक च्यानलबाट त्रियुगा नगरपालिकाका मेयरले प्रदेश सरकारलाई जानकारी नै गराउनुभएको छैन ।” घिमिरेले यसबारे आफू र आफ्नो मन्त्रालयलाई समेत कुनै जानकारी प्राप्त नभएको दाबी गरेका छन् ।

आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीले भने संक्रमणको कारण पत्ता लगाउने, ट्रेसिङ गर्ने र टेस्टलाई संख्यात्मक गति दिने सरकारको अबको जोड भएको बताए । उनले भने, “संक्रमित क्षेत्रमा मानिसलाई भित्रबाहिर गर्न र आउजाउ गर्नै नदिने निर्णय भएको छ । प्रदेश २ सरकारसँग पनि समन्वय गरेर म्यासिभ टेस्ट गर्दै छौं । संघीय र स्थानीय सरकारसँग पनि समन्वय हुनेछ ।” उदयपुरमा लकडाउन कडा गर्ने निर्णय भएको कार्कीले प्रस्ट्याएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार भुल्के टोलमा ५२ घर छन् । ६ सय जति जनसंख्या छ । तीमध्ये नेपाली सेना र प्रदेश १ सरकारले ३ सय २० जनाको स्वाब संकलन गरिसकेको छ । ६९ जनाको विराटनगरस्थित कोसी अस्पतालमा स्वाब परीक्षण भएको छ । त्यसमा पोजेटिभ आएपछि मंगलबार धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पुनःपरीक्षण गर्दा आठजना र काठमाडौंमा गरिएको परीक्षणमा थप तीनजनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले २ सय ६० जनाको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकामा मंगलबार तीनजनामा पोजेटिभ देखिएको र थप २० जनाको नमुना परीक्षण भइरहेको जनाएका छन् । उदयपुरका संक्रमितहरूको विराटनगरस्थित कोसी कोरोना अस्पतालमा उपचार भइरहेको छ । सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।बाह्रखरीबाट