जनकपुरधामः मङ्गलवार रौतहट जिल्लास्थित दुई छुट्टाछुट्टै क्वारन्टीनमा राखिएकामध्ये दुईजनामा कोरोनाभाइरस सङ्क्रमण रहेको पुष्टि भएको छ।
उनीहरूको प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गरिएको थियो। तर त्यहाँको परीक्षण नतिजा अनुसार उनीहरूमा सङ्क्रमण देखिएको थिएन।
रौतहट जिल्लाको वृन्दाबन नगरपालिका करुनिया निवासी २४ वर्षीय युवक र अर्का देवाही गोनाही नगरपालिकाको ३५ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ।
प्रादेशिक अस्पतालमा सङ्क्रमण नदेखिएको उनीहरूको राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको थप परीक्षणमा मङ्गलवार सङ्क्रमण देखिएको हो।
कहाँ छन् सङ्क्रमित?
करुनियाका युवक भारतको दिल्लीबाट गत वैशाख ४ गते नेपाल आएको र उनलाई बैशाख ६ गतेदेखि देवाही गोनाही नगरपालिकामा बनाइएको क्वारन्टीनमा राखिएको थियो।
उनी कोरोनाभाइरस सङ्क्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका फोकल पर्सन हरेन्द्र गुप्ताले जनाएका छन्।
त्यसैगरि,वृन्दाबनका अर्का सङ्क्रमित रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकास्थित क्वारन्टीनमा १६ दिन बसेर यही वैशाख ६ गते घर फर्केका थिए।
रोजगारीको सिलसिलामा भारतको कोलकातामा रहँदै आएका उनी चैत २२ गते नेपाल प्रवेश गरेका थिए।
दुवैजनाको घर भएको वडामा द्रुत परीक्षण (आरडीटी) गर्ने तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
परीक्षणमा प्रश्नचिन्ह
यसअघि सर्लाही जिल्लाको धनकौल गाउँपालिकाको हरकटवा बस्ने १४ वर्षीय किशोरमा पनि प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सङ्क्रमण देखिएको थिएन।

तर टेकुस्थित राष्ट्रिय प्रयोगशालाको रिर्पोटमा भने उनमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो।
प्रादेशिक अस्पताल जनकपुरधाममा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामविनय साहले जनाएअनुसार त्यहाँ गरिएको पीसीआर परीक्षणमा उनीहरूको रिर्पोटमा सङ्क्रमण देखिएन।
तर ती किशोरबाट लिइएको नमूनामा टेकुमा गरिएको पुनस्परीक्षणमा सङ्क्रमण देखिएपछि अहिले जनकपुरधाममा भइरहेको परीक्षण बन्द गर्ने निर्णय भएको साहले जनाए।
चैत २१ गतेबाट प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण सुरु भएको थियो।
“हालसम्म १ सय परीक्षण भएको र सबै नेगेटिभ नै आएको छ,“ उनले भने। “सर्लाहीको किशोरको घटनाले मेसिनमाथि आशंका भएको छ।“
साहका अनुसार गत शुक्रवारदेखि प्रादेशिक अस्पतालमा परीक्षण बन्द गरिएको छ । त्यहाँ द्रुत विधिमा सङ्क्रमण देखिएका रिपोर्ट पनि सबै नेगेटिभ आएको साहले जनाए।
परीक्षणको नतीजा गलत आएपछि प्राविधिकहरूको बिहीवार बसेको बैठकले यो मेसिनमा परीक्षण गर्न उपयुक्त नहुने ठहर गर्दै परीक्षण रोक्ने निर्णय भएको बताइएको छ।
परीक्षणमा सहयोगको आवश्यकता
प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरधाममा मात्र स्वाब परीक्षणको घुम्ती अर्थात ’पोर्टेवल’ पीसीआर मेसिन रहेको छ।
एक दिनमा बढीमा ८ वटा स्वाब परीक्षण मात्र त्यो मेसिनले गर्ने क्षमता रहेको छ।
एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्ने मेसिन संघीय सरकारले उपलब्ध गराएपनि त्यो नारायणी अस्पताल वीरगञ्जमा थन्किएको छ।
मेसिन सञ्चालनका लागि चाहिने अन्य आवश्यक उपकरणहरु उपलब्ध नरहेकाले त्यो सञ्चालनमा आउन सकेको छैन। उपकरण खरिदका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराएको पनि एक हप्ताभन्दा बढी भइसकेको छ।
प्रदेश सरकारले जनकपुर, वीरगञ्ज र राजविराजमा मेसिन राख्ने बताउँदै आएको छ।
“चिनियाँ मेसिन भरपर्दो नभएकाले अन्य देशबाट मगाउन लागेका छौँ,“ प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिसोर साहले भने।
तर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कतिपय केसमा एउटा पीसीआर मेसिनमा सङ्क्रमण नदेखिएपनि अर्कोमा देखिनु सामान्य भएको बताए।
“पहिलो परीक्षणमा शङ्का लागेर नै पुनःपरीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइने गरिएको छ,“ उनले भने।
उनले मेसिन नै खराब रहेको मान्न नसकिने भन्दै परीक्षण नरोक्न समेत सुझाव दिए। पछिल्लो घटनासमेत प्रदेश २ मा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ९ पुगेको छ भने ४ जना उपचारपछि घर फर्किसकेका छन्।
सङ्क्रमितहरू मध्ये हाल २ जना पर्सा जिल्लाका , १ जना सर्लाही जिल्लाका र २ जना रौतहट जिल्लाका उपचाररत छन्। देशभरिमा कुल सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ। १६ जना निको भएर फर्किसकेका छन्।  बीबीसी