विराटनगरः आइतबार कोशी अस्पतालमा भर्ना भएका सुनसरी देवानगञ्ज–१ का रवीन्द्र यादवको स्वास्थ्यमा सुधार भएन ।
हार्बिसाइड (खेतमा प्रयोग हुने किटनाशक औषधि) सेवन गरेका उनको मिर्गौला र कलेजोमा समस्या देखियो । उनलाई भेन्टिलेटर आवश्यक भयो । कोशी अस्पतालमा भेन्टिलेटर छैन ।
त्यसैले अस्पतालले बुधबार साँझ भेन्टिलेटर भएको अर्को अस्पतालमा लैनजान रिफर र्गयो । कोशी अस्पतालबाट आफन्तले एम्बुलेन्समा राखेर नोबेल मेडिकल कलेज लगे । तर, ज्वरो देखिएको भन्दै बिरामीलाई गेटबाटै फर्काइदियो ।
त्यसपछि उनीहरू लाइफगार्ड अस्पताल पुगे । त्यहाँबाट उपचार नगरी उनीहरूलाई फर्काइयो । एकातिर रवीन्द्रको अवस्था नाजुक बन्दै थियो भने अर्को्तिर कुनैपनि अस्पतालले उनीहरूको भर्ना लिन मानेको थिएन । त्यसैले भाइ रामलालले मध्यरातमा बिरामी दाइ रवीन्द्रलाई घरमै फिर्ता लगे ।
पछि पैसा जोहो गरेर बिहानै घरबाट रामलालले नै दाइलाई लिएर हिँडे । बिरामीको ज्वरो भने घटेको थिएन । उनले नोबेल अस्पतालमा फोन गरे । तर, अस्पतालले कोभिड अस्पताल लैजान सुझाव दियो । रामलाल बिरामी दाइलाई लिएर न्यूरो अस्पताल पुगे । त्यसपछि रवीन्द्रलाई ग्रिनक्रस अस्पताल लगियो, त्यहाँबाट गोल्डेन अस्पताल ल्याइयो । तर, सबैले ज्वरो नापे र गेटबाटै फर्काए ।
अन्यत्र लैजाने अवस्था थिएन । त्यसैले रामलालले रवीन्द्रलाई लिएर ९ बजे कोशी अस्पतालमा पुगे ।
उनको अवस्था झन् बिग्रिसकेको थियो । मुखबाट रगत आउन थालेको थियो । सास फेर्न गाह्रो थियो । स्वास्थ्य जाँचपछि चिकित्सकले तत्काल भेन्टिलेटर भएको स्थानमा लगेर डाइलसिस गर्न सुझाए । बिरामीको अवस्था नाजुक भएकाले रिफर गर्नु परेको कोशी अस्पतालका चिकित्सक लक्ष्मीनारायण यादवले बताए ।
‘मृगौलामा समस्या आएकाले डायलासिसल गर्नुपर्ने थियो’ उनले भनेका छन्, ‘लिभरमा पनि असर गरेका कारण उनलाई तत्काल भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो ।’
तर, विराटनगरको कुनै अस्पतालले भर्ना तयार भएन । त्यसैले दिउँसो १२ बजेतिर एम्बुलेन्स खोजेर परिवारले रवीन्द्रलाई धरान लगे । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पनि बिरामी भर्ना गर्ने÷नगर्ने दोधार थियो । तर, बिरामीले पाएको दुःख बेलिबिस्तार लगाएपछि भर्ना लिएको रवीन्द्रका बुबा जोगिलालले बताए ।
निरीह प्रदेश सरकार
भेन्टिलेटर भएका सबै अस्पतालले रवीन्द्रलाई भर्ना गर्न नमानेका विषयमा प्रदेश १ सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्तले आफ्नो निरीहता प्रस्तुत गरे । सुरुमा उनले बुझ्नुपर्छ भनेर पन्छिन खोजे ।
त्यसपछि निजी अस्पताललाई भर्ना गर्न निर्देशन दिनुको साटो उनले कोशी अस्पतालका अधिकारीहरूलाई फोन गरेर भर्ना गर्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए । अनलाइनखबरबाट