इटहरीः उदयपुर घर भएकै कारण अपरेशन थिएटरबाट गर्भवती निकाल्ने नोबेल मेडिकल कलेजलाई कानूनी कार्वाहीको माग गर्दै सुक्रबार श्रीमान्ले राष्ट्रिय मानबअधिकार आयोगमा क्षेत्रिय कार्यालय विराटनगरमा उजुरी दिएका छन् ।
प्रसुति शल्यक्रियाको लागि भर्ना भएकी उदयपुरको त्रियुगा–११ की सरस्वती रौनियारलाई बुधबार अप्रेशन थिएटरबाट निकालेर कोशी अस्पताल रेफर गर्ने नोबेलमाथि कार्वाही गर्न सरस्वतीका श्रीमान् प्रकाश गुप्ताले उजुरी दिएको राष्ट्रिय मानबअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख मोहनदेव जोशीले बताएका छन् ।
प्रसूति व्यथा लागेपछि मंगलबार नोबेलमा भर्ना गरिएकी सरस्वतीको बुधबार बिहान शल्यक्रिया गर्ने समयमा उदयपुर घर भएको बुझेपछि नोबेलका चिकित्सकले शल्यक्रिया कक्षबाटै बाहिर निकालेर कोशी अस्पताल रेफर गरेका थिए । रेफरको कागजमा उदयपुर घर भएको कारण रेफर गरिएको लेखिएको छ ।
उदयपुर घर भएकै कारण विरामीलाई उपचारबाट बञ्चित गर्ने अस्पतालमाथि कार्वाहीको माग गर्दै विरामीका श्रीमान प्रकाशले उजुरी दिएका हुन् । जिल्ला प्रशासन कार्यालय मोरङ समेत दिने योजना भएपनि समय अभावले दिन नपाएको गुप्ताले बताए । उनका अनुसार जिल्ला प्रशासनमा आइतवार उजुरी दर्ता गराईने छ । विरामीले सहज रुपमा उपचार पाउने न्युनतम मानबअधिकार पनि नोबेलले उल्लंघन गरी ज्यान जोखिममा पार्ने प्रयास गरेको भन्दै पीडित परिवारले मानवअधिकार आयोगमा उजुरी दिएको बताइएको छ ।
विरामी उपचारबाट बञ्चित हुनुपर्ने अवस्थालाई आयोगले गम्भीर रुपमा लिएको मानअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख जोशीले बताए । उजुरीलाई आयोगको केन्द्रीय कार्यालयमा पठाएर आवश्यक कार्वाहीको प्रक्रिया थालिएको उनले जनाए ।
नोबेलबाट रेफर भएर आएकी सरस्वतीको कोशी अस्पतालमा शल्यक्रियाबाट छोना जन्मिएको छ । आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
नोबेल मेडिकल कलेजले भने शल्यक्रियाका लागि भर्ना भएकी बिरामीमा ज्वरो आएको दाबी गरेको छ । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले शल्यक्रिया गर्ने बेलामा ज्वरो देखिएकाले चिकित्सकले कोरोनाको शंका गरेपछि कोशी पठाएको दावी गरेपनि नोबेलको रेफर कागजले उनको दावी खारेज गरेको छ । कोशीका चिकित्सक र उनका श्रीमानले पनि ज्वरो नआएको बताएका छन् ।
उदयपुरको भुल्केमा कोरोना संक्रमण देखिएको भएपनि जिल्लाभरका विरामी लिन निजी अस्पतालहरुले अस्वीकार गर्दै आएका छन् । केही दिनअघि पनि विराटनगरको विराट नर्सिङ होमले उदयपुर घर भएका बिरामीलाई भर्ना नगरी गेटबाटै फर्काएको थियो ।