विराटनगरः प्रदेश नं. १ बाट कोरोना भाईरस (कोभिड १९) का शंकास्पद तीनसय बढीको स्वाव परीक्षण हुने भएको छ । प्रदेश सरकारले कोरोना परीक्षणका लागि थप ल्याव सञ्चालन गरेसँगै दैनिक ३ सय बढीको परीक्षण गर्न सकिने भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।
प्रदेश सरकारले कोरोना परीक्षणको मात्रा बढाउँदै लगेको उनले बताए । विराटनगरको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा कोरोना भाईरस (कोभिड १९) का शंकास्पद व्यक्तिको स्वाव परीक्षण शुरु गरिएपछि मन्त्री घिमिरेले आज निरीक्षण गरेका छन् ।
सो प्रयोगशालामा आजदेखि स्वाव परीक्षण शुरु भएको छ । प्रयोगशालाको सामाजिक विकास मन्त्री घिमिरे, मन्त्रालयका सचिव रविलाल पन्थ लगायतले निरीक्षण गरेका हुन् । २० जना सम्मको सो ल्यावबाट परीक्षण गर्न सकिने मन्त्री घिमिरेले बताए । उनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पनि क्षमता विस्तार गरिएको बताए ।
धरानमा १ सय बढी र कोशी अस्पतालमा २ सय जना सम्मको परीक्षण गर्न सकिने मन्त्री घिमिरेले बताए । सो ल्यावमा कोरोना पोजेटिभ रिपोर्ट आएमा पुनः परीक्षण कोशी अस्पतालमा गरिने प्रदेश १ जनस्वास्थ्य प्रयोशालाका निर्देशक जयबेन्द्र यादवले बताए । सो ल्यावबाट यसअघि वर्डफ्ल्यु, स्वाईनफ्ल्यु, एन्थ्रेक्सको परीक्षण हुँदै आएको उनले बताए । प्रदेश सरकारले पीसीआर मेसिन र किट उपलब्ध गराएपछि पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाबाट स्वाव परीक्षण शुरु गरिएको यादवले बताए ।