विराटनगरः प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आगामी आर्थिक वर्षको वजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित हुने बताएका छन् । यसअघिका बजेट भौतिक पूर्वाधारमा केन्द्रित हुने गरेको भन्दै मन्त्री घिमिरेले आगामी आर्थिक वर्षको वजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित गरेर आउने बताए ।
बजेट निर्धारित मितिमै ल्याउनेबारे छलफल शुरु भएको भन्दै उनले आगामी आर्थिक वर्षको वजेटले स्वास्थ्य र शिक्षालाई बढी जोड दिने बताए । विश्वभर फैलिएको कोरोना भाईरसले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने देखाएको उनले बताए ।
शिक्षा पत्रकार समूहले आइतवार आयोजना गरेको अनलाईन पत्रकार सम्मेलन तथा अन्र्तक्रीया कार्यक्रममा मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । उनले भने,‘ यसअघिका बजेट ५१ प्रतिशत भौतिक पूर्वाधारमा हुने गरे पनि अव त्यसो हुँदैन ।’ आगामी वैशाख २५ गते सम्मको लकडाउन पछि शिक्षण संस्था सञ्चालनबारे निर्णय हुने मन्त्री घिमिरेले बताए । लकडाउनपछि शिक्षण संस्था सञ्चालनबारे विज्ञसँग परामर्श भईरहेको उनले बताए । शिक्षण संस्था सामाजिक दुरी कायम गरि पठन पाठन गराउन सक्ने अवस्थाका नभएकाले कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल भईरहेको मन्त्री घिमिरेले बताए ।
कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि स्थगित भएको एसईई परीक्षा सञ्चालनबारे पनि छलफल भईरहेको उनले बताए । परीक्षा केन्द्रको दायरा बढाएर दुरी कायम गरि परीक्षा सञ्चालन गरिने मन्त्री घिमिरेले बताए ।