धरानः यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसले स्नातकोत्तर तहका केही विषयमा अनलाइन कक्षा सञ्चालन गर्न थालेको छ ।
क्याम्पसले मानविकी, शिक्षा र व्यवस्थापन सङ्कायका केही विषयमा अनलाइन कक्षा सञ्चालन गरिरहेको क्याम्पस प्रमुख दामोदर भण्डारीले बताए । उनका अनुसार अहिले मानविकी र शिक्षा सङ्कायतर्फ नेपाली, अङ्ग्रेजी र अनिवार्य विषयका साथै व्यवस्थापन सङ्कायतर्फ पनि केही विषयका कक्षा सञ्चालन भइरहेका छन् ।
कोरोना भाइरसको त्रासका कारण सरकारले घोषणा गरेको बन्दाबन्दीको समय अनिश्चित भएको हुँदा यसबीचमा विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुगोस् भनेर अनलाइन कक्षा सञ्चालन गरेको क्याम्पस प्रमुख भण्डारीको भनाइ छ । अहिले त्रिभुवन विश्वविद्यालयले पनि अनलाइन कक्षामै जोड दिइरहेको छ । क्याम्पसको नेपाली विभाग प्रमुख दामोदर भण्डारीले मानविकी सङ्कायतर्फ नेपाली विषयका कक्षाहरू वैशाखको प्रारम्भदेखि नै थालिएको जानकारी दिए । शिक्षकहरूले जुम एप्लिकेसनमार्फत् कक्षा सञ्चालन गरिरहेका छन् ।
कक्षालाई प्रभावकारी बनाउन केही दिनअघि शिक्षकहरूका लागि अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिएको थियो । क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाइका अध्यक्ष प्राडा अशोककुमार झाको सक्रियतामा जुम एप्लिकेसनमार्फत् सञ्चालित अभिमुखीकरणमा शिक्षकहरूलाई जुम सञ्चालनबारे जानकारी दिइएको थियो । डा अमृतकुमार श्रेष्ठ, जीवन बज्राचार्य र सीता खतिवडाले सहजीकरण गरेको अभिमुखीकरणमा सहभागी शिक्षकहरूले पनि जुमबारे आ आफ्ना जानकारी बाँडेका थिए ।
अनलाइन कक्षाको प्रभावकारिताका सम्बन्धमा विभिन्न कोणबाट प्रश्न उठिरहेको सन्दर्भमा क्याम्पस प्रमुख भण्डारीले भने–‘केही समस्या नै छैन भन्ने त होइन तर बन्दाबन्दीको अवस्थामा प्रविधिको प्रयोगबाट सकेसम्म पठनपाठन सञ्चालन गर्ने प्रयास हो ।’ नियमित कक्षा सञ्चालन भएकै अवस्थामा पनि शतप्रतिशत उपस्थिति नहुने उल्लेख गर्दै उनले विद्यार्थीहरूको सहभागिता बढाउन विश्वविद्यालयले छुटमा डाटा उपलब्ध गराउन टेलिकमसँग सहकार्य गरिरहेको जनाए । अनलाइन कक्षामा विद्यार्थीहरूको पहुँचको सम्भाव्यताबारे अध्ययन गर्न क्याम्पसले सर्वेक्षण पनि गरिरहेको छ । यसका लागि डिजिटल फारम वितरण गरिएको क्याम्पस प्रमुखले बताए ।
महेन्द्र क्याम्पसका स्ववियु सभापति सागर चेम्जोङले पनि पठनपाठन बन्द भएको अवस्थामा प्रविधिको प्रयोगबाट कक्षा सञ्चालन हुनु सकारात्मक भएको धारणा राख्दै इन्टरनेटमा विद्यार्थीहरूको पहुँच बढाउन स्थानीय सरकार र इन्टरनेट प्रदाय संस्थाकसँग समेत सहकार्य गरिनुपर्ने बताए । ‘बिस्तारै इन्टरनेटमा विद्यार्थीहरूको पहुँच बढाउँदै लग्नुपर्छ ।’ उनले थपे । अनलाइन कक्षामा सहभागी विद्यार्थीहरू पनि उत्साही देखिएका छन् । मानविकी सङ्कायतर्फ स्नातकोत्तर तहको प्रथम सत्रमा नेपाली विषयका विद्यार्थी दीपक फुँयाल अनलाइन कक्षा निकै प्रभावकारी भएको बताउँछन् । ‘लकडाउनपछि पनि यस्तै कक्षा भए हुन्थ्यो ।’ उनले भने । त्यसो त बन्दाबन्दीपछि पनि क्याम्पसमा तत्कालै पठनपाठन सञ्चालन हुने सम्भावना कम भएकाले विश्वविद्यालयले केन्द्रीय विभागका शिक्षकहरूलाई अनलाइन कक्षासम्बन्धी तालीम दिइरहेको क्याम्पस प्रमुख भण्डारीले जनाए ।