विराटनगरःप्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाईरसको नियन्त्रणका लागि प्रदेश सरकारको ध्यान थ्रिटीमा केन्द्रित रहेको बताएका छन् । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ट्रेसिङ, टेष्टीङ र ट्रिटमेन्टलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको उनले बताए ।
सामाजिक विकास मन्त्रालयले कोरोना नियन्त्रणका लागि निर्देशिका बनाएरै काम गरिरहेको उनँले बताए । सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहता नेतृत्वको टिमले ट्रेसिङको काम गरिरहेको मन्त्री घिमिरेले बताए । उनले भने,‘कोरोनाको रुट पत्ता लगाउने काम यसले गर्छ ।’ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवको नेतृत्वमा टेष्टीङ गर्ने टिम रहेको उनले बताए । कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्टेन्ड डा. संगीता मिश्राको नेतत्वमा ट्रिटमेन्ट गर्ने टिम रहेको मन्त्री घिमिरेले बताए । सो टिममा डा. दीपक सिग्देल र डा. डेनप्रसाद आचार्य रहेका छन् । सामाजिक विकास मन्त्री घिमिरेले हेल्थडेक्स पुन शुरु गरिने बताए । लकडाउन खुकुलो भएसँगै हेल्थडेक्स शुरु हुने उनको भनाई छ ।

२५ जना स्वास्थ्यकर्मी पनि डिस्चार्ज
कोभिड अस्पतालमा गत वैशाख ५ गते विरामी आएपछि उपचारमा खटिएका २५ जना स्वास्थ्यकर्मीको टोली आज डिस्चार्ज भएको छ । इष्टर्न स्टार होटेलको क्वारेन्टाईनमा रहेका स्वास्थ्यकर्मीको टोलीलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, मन्त्रालयका सचिव रविलाल पन्थ, कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले विदाई गरिन् । चिकीत्सकको साहसका कारण कोरोनालाई परास्त गर्न सफल भएको मन्त्री घिमिरेले बताए । प्रदेश १ सरकारले कोरोना उपचारका लागि गरेको कामको संघीय सरकार र अन्य प्रदेश सरकारहरुले चासोका साथ लिएको उनले बताए । अवस्यकता परेको खण्डमा पुन सेवा दिन चिकित्सक र स्वास्थ्यकर्मीलाई उनले आग्रह गरे । पहिलो चरणमा डा. डेनप्रसाद आचार्यको नेतृत्वमा २५ जनाको टिम रहेको थियो । ७ दिन अस्पतालमा वसेको टिम १४ दिन क्वारेन्टाईनमा बसेर आज डिस्चार्ज भएको हो । डिस्चार्ज हुनुअघि स्वास्थ्यर्मीमा गरिएको पीसीआर परीक्षणमा सवैको रिपोर्ट नेगेटिभ आएको थियो ।