इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मि गौतम बीच बिगत केही समयअघिबाट भित्र भित्रै चलिरहेको शितयुद्ध अन्त्य गरेर अगाडी बढ्ने समझदारी भएको छ ।
शनिवार मेयर उपमेयर सहित ४ वटा वडाका वडाअध्यक्ष सहितको संयुक्त बैंठकले यस्तो निर्णय गरेको हो । मेयर र उपमेयर बीच भित्र भित्र शितयुद्ध चल्दा एकले अर्काकालाई आरोप प्रत्यारोप लगाउने कार्य हुदै आएको थियो । त्यती मात्रै होइन, एकले गरेको असल कार्य अर्काले मन नपराउनेसम्मको कार्य हुँदै आएको थियो ।
मेयर उपमेयर बीच नगरवासीका लागि गरिने सबै खालका कार्यहरुमा समन्वय समेत हुन छाडेको थियो । उनिहरु बीच फाँटो ल्याउने कार्य केही वडाअध्यक्षहरुले एकले अर्काको कुरा सुनाउने गरेकाले पनि हुँदै आएको थियो । मेयर उपमेयर बिच वेमेल रहेको बिषय इटहरी उपमहानगरका सबै वडा अध्यक्ष, सदस्य, कार्यपालिका सदस्यलाई मात्र नभई कर्मचारी बर्ग र पार्टीका जिम्मेवार पदाधिकारीहरुलाई समेत राम्रोसंग जानकारी छ । कर्मचारी श्रोत भन्छन् –‘ उपमेयरले राम्रै काममा नगरवासीकै लागि खर्च गरिएका खर्च विवरण बिल भरपाई सहित भुक्तानीका लागि पेश गर्दा मेयरले रोक्ने र मेयरले पेश गर्दा उपमेयरले रोक्नेसम्मका कार्य भएका छन् । मेयर र उपमेयरका दुई खालका प्रेसर थाम्न नसकेर पनि प्रमुख प्रशासकिय अधिकृतहरु लामो समय इटहरी टिक्न नसकेका पनि हुन् ।’
मेयर उपमेयर बिचको असमझदारीकै कारण इटहरी उपमहानगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतहरु ६ महिना पनि टिक्न नसकेको चर्चापनि कर्मचारीवृतमा व्यापक छ ।
पछिल्लो समय मेयर द्धारिकलाल चौधरी आफ्नो जग्गा प्लटिङ भएको स्थानमा रहेको एक दलित महिलाको घरमा राती बसेर कुखुरा र वियर खाएको बिषय विवादित भएको थियो । ती महिलाको घरमा उनि राती बसेको बिषयमा सोही रात उपमेयरले फेसबुकमा मेयरप्रति लक्षित गरि स्टाटस नै लेखेकी थिइन् । यसबाट उनिहरु बिचको शितयुद्ध सतहमै आएको थियो । उनले सो स्टाटस केही समयपछि नै हटाएकी थिइन् । भोलिपल्ट दिउँसोको समयमा अघिल्लो रात मेयर बसेको घरमै पुगेकी थिइन् । उनि नगरपालिका गाडी लिएर पुग्न साथ गाँउभरीका महिलाहरु भेला भएर बिभिन्न खालका कुरा उठाएका थिए । ती महिलाका कारण गाँउमा चेलिबेटी बसिनसक्नु भएको र मेयर जस्तो मान्छेले यहि आएर रातको समयमा खानु पर्छ र ? भन्ने जस्ता प्रश्न उठाएर गुनासो गरेका थिए । उनिहरुको गुनासो सम्बोधन गर्दै उपमेयरले आफुपनि घटनाका बिषयमा मेयरसंग कुरा गर्ने र गाँउका महिला दिदि बहिनीहरुको गुनासाहरुको सुनुवाई गर्ने भन्दै फर्किएकी थिइन् । उनि त्यहाँ पुगेको र त्यसपछि भएका सबै गतिविधिहरु भिडियो निर्माण गरि समाजिक सञ्जाल भरी पोष्ट गरिएको थियो । त्यसकै भोलि पल्टा ५ बर्षे परीक्षामा ३ बर्षमै पास भएका जस्ता स्टाटस पोष्ट गरेकी थिइन् । जुन पोष्ट मेयरप्रति बढी लक्षित थियो । यी सबै गतिविधिले मेयर उपमेयर बिच राम्रो सम्बन्ध नभएको सबैले बुझेका थिए ।
नेकपा भित्रका केही इमान्दार नेता तथा कार्यकर्ताहरुले मेयर उपमेयर बिचको बेमेलका कारणपनि मेयर पटक पटक विवादमा आएको निश्कर्ष निकालेका छन् । मेयरलाई केही वडा अध्यक्ष र जिल्ला तथा प्रदेशका जिम्मेवार नेताहरुले जे गरेपनि कमरेड ठिक गर्नुभयो , यसरी अगाडी बढ्नुहोस् भन्दै उकास्नुका साथै उपमेयरका बिषयमा नचाहिने कुरा लगाउने कार्य जारी राखेका कारण इटहरी सरकारको समेत बदनाम भईरहेको निश्कर्ष निकालिइएको छ । ७ जना नगरका सदस्यहरुले त पटक पटक मेयर विवादमा आउनुलाई गम्भिर रुपमा लिदै तत्काल छानविन गरि दोषीलाई कार्वाही माग नै गरेका छन् ।
शनिवार भएको बैंठकमा मेयर, उपमेयर र नेकपाबाट विजयी भएका वडा अध्यक्षहरु बीच असमझदारी र अन्योल या फरक बुझाइ भए छलफलबाट प्रष्ट पार्ने निर्णय भएको छ । नगरपालिका , मेयर उपमेयरसंग जोडिएका बिषयलाई छलफलबाट प्रष्ट पारी साँझा बुझाई बनाएर साँझा धारणा बनाई अबका दिनमा अगाडी बढ्ने सहमति पनि भएको बैंठकमा सहभागी एक नेताले जानकारी दिए । उनका अनुसार शनिवार बसेको बैंठकमा मौखिक सहमति भएको र त्यसलाई दस्तावेजका रुपमा आज भोलिभित्रमा माइनोटिङ नै गर्ने सहमति पनि भएको छ ।
बैंठकमा केही वडा अध्यक्षहरुले मेयर उपमेयर बिचमा खेल्न खोजेकाले असमझदारी बढ्नै गएको कुरापनि छलफलमा उठेको ती नेताले बताए । उपमेयरले यर्थाथ नबुझी फेसबुकमा स्टाटस लेख्नुका साथै भोलिपल्टै सो स्थान पुगेर गाँउभरीका लाई भेला गरि भिडियो नै बनाएर समाजिक सञ्जालभरी फैलाउने काम गरिएको भन्ने आरोपपनि खेप्नु परेको बुझिएको छ ।
बैंठकमा मेयर,उपमेयरका अलबा, वडा नम्बर ४,५, १३ र १४ का वडाअध्यक्षहरु सहभागी थिए । मेयर चौधरी र उपमेयर गौतमले आफुहरुबाट भएका गल्ती कमजोरीहरुको आत्मआलोचना गरि माफी माग्ने काम पनि भएको बैंठकमा सहभागी एक वडाअध्यक्षले बताए ।

















