धरान: सुनसरीको धरानका दुई किशोरीहरूलाई काममा लगाइदिन्छु भन्दै लैजाने दुई युवालाई चतराबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइटबार दुई किशोरीहरूलाई लहानमा काम लगाईदिने भन्दै झुक्याएर लैजादै गरेको अवस्थामा चतराबाट सशस्त्र प्रहरीले धनुषा जनकपुर–७ का ललन मण्डल र महेशप्रसाद यादवलाई पक्राउ गरेको हो ।

मोटरसाइकलको पास बनाएर धरान–११ की १४ र १७ वर्षका किशोरीलाई कोसी पुल हुँदै लैजाने क्रममा चतरास्थित सशस्त्र प्रहरीको बेसक्याम्पले उनीहरुलाई नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेका अनुसार किशोरीलाई झुक्याएर बेचबिखनको लागि लैजान लागेको आशंकमा उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा बुझाइएको छ ।

मण्डलको साथ ज १ प ८४८५ नम्बर मोटरसाइकलमा तीन जना सवार रहेको देखेपछि प्रहरीले रोकेर सोधपुछ गर्दा साहुको छोरीहरू धरानमा बिरामी बुबा भेटेर फर्किएको र आमा हस्पिटलमामा नै रहेको बताएपछि प्रहरीले आमाको मोबाइलमा फोन गर्दा अस्पतालमा नभएको जवाफ आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । चतराको एउटा चेकपोस्टबाट तीव्र गतिमा भागेपछि भण्डारीटार स्थित दोस्रो चेकपोस्टले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका चक्रघट्टीका प्रहरी निरीक्षक शरणकुमार दाहालले जानकारी दिएका छन् ।