विराटनगरः प्रदेश १ सरकारको पहलमा बिहीबारसम्म ल्याबमा गरिने (पिसीआर) विधिबाट गरिएका मध्ये २ हजार ४ सय ३५ जनामा रिर्पोट नेगेटिभ आएको छ ।
दू्रत परीक्षण विधिबाट जम्मा ८ हजार ९ सय ८ जनाको रिर्पोट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ । सरकारले परीक्षणलाई तीव्रता दिएको छ ।
धरान र विराटनगरका तीनवटा ल्याबमा पीसीआर विधिबाट परीक्षण गर्ने प्रबन्ध भएको छ । दू्रत परीक्षण (आरडीटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) दुबै विधिबाट कोरोना परीक्षण दायर र दरलाई तिव्रता दिइएको हो ।
यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कूल ६ सय ४७ जना छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ८ हजार २ सय ७१ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
सरकारले खडा गरेको कोरोना जनसुरक्षा कोषण्मा बिहीबारसम्म २९ करोड २६ लाख ५० हजार ८ सय ६३ रुपैयाँ जम्मा भएको छ । खर्च निकासा कट्टा गरी जम्मा बाँकी हुन आउने रकम १४ करोड १७ लाख ५० हजार ७ सय १३ रुपैयाँ छ ।