इटहरीः प्रदेश १ मा ११ हजार ६ सय ५३ जनाको कोभिड–१९ को जाँच भएको छ ।
मेसिनबाट विरामीको स्वब लिएर गरिने पिसिआर जाँचबाट २ हजार ९ सय १९ जनाको परिक्षण भएको छ भने कोभिड–१९ टेस्ट किटबाट गरिने दु्रत परिक्षण ८ हजार ९ सय ३३ जनाको भएको छ ।
पिसिआर टेस्ट धरानमा एक तथा विराटनगरमा दुइ स्थानमा हुँदै आएको छ भने प्रदेश १ का १४ जिल्लाका १३७ स्थानिय निकाय सबैमा द्रुत परिक्षण भएको प्रदेश सरकार मुख्यमन्त्री कार्यालय मातहतमा राखेको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।
प्रदेश १ मा ३५ जनाको कोरोना पुष्टि भएको थियो । १७ जना उपचारपछि घर फर्केका छन भने १८ जनाको उपचार भइरहेको छ । प्रदेश १ सरकारले गत चैत्र २१ गते नेसनल साल्ट ट्रेडिङको विराटनगर १० मा बनाएको कोभिड–१९ अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य छ ।
उपचारमा संलग्न डाक्टर दीपक सिग्देलले बताए । सिग्देलका अनुसार ५ भेन्टिलेटर र ५० बेड क्षमताको अस्पतालमा अहिलेसम्म कुनैपनि बिरामीहरु भेन्टिलेटरमा राख्नु परेको छैन ।
प्रदेश सरकारले गत चैतमा निर्माण गरेको कोरोना जनसुरक्षा कोषमा बिहीबारसम्म २९ करोड २६ लाख ५० हजार ८ सय ६३ रुपैयाँ जम्मा भएको छ ।
खर्च निकासा कट्टा गरी जम्मा बाँकी हुन आउने रकम १४ करोड १७ लाख ५० हजार ७ सय १३ रुपैयाँ रहेको कोरोना सूचना डेस्सका सदस्य तथा मुख्यमन्त्रीका प्रेस संयोजक ध्रुव सुवेदीले प्रदेश पोर्टललाइ जानकारी दिए ।