विश्व महामारीकारूपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघेको छ । २४ घण्टामा ५ हजार ३ सयको मृत्यु भएसँगै ज्यान गुमाउनेको कुल संख्या ३ लाख नाघेको हो । 

वल्डोमिटरका अनुसार कोरोनाबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ८६ हजार ९ सय संक्रमितको ज्यान गएको छ । गत २४ घण्टामा मात्र त्यहाँ २६ हजार ४ सय संक्रमित थपिँदा १७ सय व्यक्तिको मृत्यु भएको छ ।

अमेरिकामा अहिलेसम्म १४ लाख ५६ हजारमा कोरोना पुष्टि हुँदा ३ लाख १८ हजार व्यक्ति उपचारपछि स्वस्थ भएका छन् । 

त्यस्तै, कोरोनाबाट सबैभन्दा बढी ज्यान गुमाउने देशको दोस्रो स्थानमा रहेको बेलायतमा मृतकको संख्या ३३ हजार ६ सय नाघेको छ । बिहीबार मात्रै त्यहाँ ४ सय २८ व्यक्तिले ज्यान गुमाउँदा ३ हजार ४ सय नयाँ संक्रमित थपिएका छन् । बेलायतमा शुक्रबार बिहानसम्म संक्रमितको संख्या २ लाख ३३ हजार पुगेको छ । 

इटालीमा ३१ हजार, फ्रान्समा २७ हजार ४ सय, स्पेनमा २७ हजार ३ सय, ब्राजिलमा झण्डै १४ हजार, बेल्जियममा ८ हजार ९ सय, जर्मनीमा ८ हजार, इरानमा करिब ७ हजार,  क्यानाडामा ५ हजार ४ सय, नेदरल्याण्ड्समा साढे ५ हजार संक्रमितको मृत्यु भइसकेको छ । अन्य देशमा भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार नाघेको छैन । 

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको कोरोनाबाट हालसम्म २ सय १५ देश प्रभावित भइसकेका छन् । शुक्रबार बिहानसम्म यो भाइरसबाट विश्वभर ४५ लाख २५ हजार बढी व्यक्ति संक्रमित भएका छन् । जसमध्ये १७ लाख ३ हजार ८ सय ८ व्यक्ति निको हुँदा ३ लाख ३ हजार ३ सय ७१ संक्रमितले ज्यान गुमाएका छन् ।