इटहरी: वरिपरि सेतो लुगाले पूरै ढाकिएका, मुहारसम्म नदेखिएका मानिस ओहोरदोहोर गरिरहन्छन् । घरि छवैमा आएर पञ्जा लगाएका हातले नाडी समातेर एकछिन गम्छन् । परपरबाट नर्सहरू पनि सशंकित र त्रसित मुद्रामा उसैलाई हेर्दै हिँडिरहेका छन् ।

छेवैमा छन् बाबु, जो सन्तान जन्मिएको भन्दा जीवन सङ्गिनी गुमाएको पीडाबाट अझै तङ्ग्रिएका छैनन् । परिवार नै कोरोनाले सखापै पार्ने पो हो कि भन्ने त्रासले बेचैन छन् उनी । छेवैमा बसेर आफूलाई सुम्सुम्याइरहेकी हजुरआमाका आँखामा अझै आँँसु रोकिएको छैन ।

सबै बेचैन र त्रासदीपूर्ण रहेकोे अवस्थामा आफ्नी आमालाई खोज्दै घरि ठूलाठूला आँखा पारेर वरपर आँखा डुलाउँछन् त घरि चर्को स्वरले रुँदै आमा बोलाउँछन् ।

जन्मिएर आमाको पोषिलो दूधले आँत भिजाउन नपाउँदै, आमाको सुगन्धले पुलकित हुँँदै काखमा लुटपुटिन नपाउँदै भयानक रोग कोरोना भाइरसले उनकी आमा खोस्यो, आमा भन्ने आभाास गर्न नपाउँदै ।
जन्मिँदै डरलाग्दो भाइरसले आमा गुमाएका शिशु परिवारका अन्य सदस्यको न्यानो अँगालोको साटो अहिले अस्पतालको बेडमा यताउता आँखा डुलाउँदै आफ्नी आमा खोजिरहेका छन् ।

तर, डरलाग्दो रोगले उनकी आमालाई लगेको उनलाई आभास पनि छैन । उनी पनि उत्तिकै जोखिममा छन् अहिले ।

अहिले मुलुक ती शिशुमा संक्रमण छ कि छैन भनेर कौतूहलपूर्ण भएर बसेको छ । त्यति मात्र नभएर सिंगो मुलुक नै शिशु र अन्य परिवारमा कोरोना भाइरस नदेखियोस् भन्ने कामना गरिरहेको छ ।

अहिले परिवार मात्र होइन, गाउँलेदेखि सबै नै रिपोर्टको पर्खाइमा छन् । डाक्टरहरू पनि ती शिशुले भविष्य देख्न पाउँछन् कि पाउँदैनन् भनेर भन्न सक्ने अवस्थामा छैनन् ।

कोरोना परीक्षणका लागि स्वाब टेस्ट हुन नपाउँदै शिशुले अर्को रोगको सिकार हुनुपर्‍यो । धुलिखेल अस्पतालमा कोभिड( १९ का बिरामीको उपचारमा खटिएका डा। सुमन ताम्राकारका अनुसार शिशुलाई जण्डिस देखिएको हो ।

उनका अनुसार शिशुलगायत उनका परिवारको स्वाब टेस्ट हुँदै छ । तर, अरूको र उनको रिपोर्ट नआउँदै शिशुमा जण्डिस देखिएको छ । भर्खरै जन्मिएका शिशुमा जण्डिस देखिनु सामान्य नै हो । यसले आत्तिहाल्नुपर्ने अवस्था नभएको चिकित्सक बताउँँछन् ।

ुकोरोनाको रिपोर्ट कस्तो आउँछ, त्यसपछि मात्र बाँकी उपचार सुरु हुन्छ । अहिले जण्डिसको उपचार गर्दै छौँ, डा। ताम्राकार भन्छन् ।

कोरोनाकै आशंकाका बीच जण्डिससँग जुधिरहेका शिशुलाई पोषिलो दूध चाहिने हो । तर, आमाको सुगन्धमा मन्त्रमुग्ध हुँदै आमाको काखमा लुटपुटिएर पोषिलो दूध खाने अवसर उनले पाएनन् ।

उनी अहिले पनि सकी नसकी हात(खुट्टा हल्लाएर चिच्याउँदै अझै पनि आमा खोजिरहेका छन् अनि पोषिलो आमाको दूध पनि ।

सन्तान जन्मिएको खुसीभन्दा कोरोनाले आफ्नी जीवन सङ्गिनी गुमाएको पीडा आँखाभरी छल्काउँदै छोराको रोदन सम्हाल्न सकिरहेका छैनन् उनका बाबु । रोएको सन्तानलाई घरि नर्सले आएर फकाउँछन् त घरि हजुरआमाले, तैपनि शिशु आमा खोजिरहन्छन् रुँदै ।

शिशुलाई अहिले गाईको दूध खुवाइँदै छ । सँगै आइसोलेसनमा रहेका बाबु, हजुरआमा र सानीआमाले शिशुको हेरविचार गरिरहेका छन् । 

#शिलापत्रबाट