भद्रपुरः भारतका बिभिन्न स्थानबाट रेलबाट किसनगञ्ज आएका ३५ नेपालीलाई सीमामै झापा गाँउपालिकाले खानाको व्यवस्था गरेको छ । किसनगञ्जबाट भारतले बसको माध्यमबाट सीमा क्षेत्रमा ल्याएर ३५ जनालाई त्यसै छाडिदिएको थियो ।
अलपत्र गरेका नेपालीलाई तत्कालै आ आफ्नो घर पठाउन सक्ने अवस्था नरहेकाले सीमामै राखेर खाना र बस्नको व्यवस्था गरिएको गाँउपालिका अध्यक्ष जयनारायण साहले बताए ।
सोमबार साँझ भारतका विभिन्न क्षेत्रमा रोजगारीमा गएका नेपालीहरु रेलको माध्यमद्वारा किसनगञ्जसम्म आएका थिए ।
रेल स्ट्रेसनमा झरेका नेपालीहरुलाई विहार सरकारले बसमा हालेर सीमासम्म ल्याएको अध्यक्ष साहले बताए । साँझमा भारत र नेपालको सीमा क्षेत्रमा भोकै तिर्खै आएका उनीहरुलाई पानी र चाउचाउको व्यवस्था तत्काल त्यही गरिएको उनले जनाए । आज विहान उनिहरुलाई खानाको व्यवस्था गरिएको उनले बताए ।
सो स्थानबाट उनीहरुलाई उद्धार गरेर जिल्ला कोराना रोकथाम तथा समन्वय समितिले तय गरेको होल्डिङ सेन्टरमा पठाउँने उनले बताए । पालिकाको वडा नम्बर १ मा रहेको लसुना सीमा क्षेत्रमा रहेका ३५ जना नेपाली मध्ये २५ जना झापाका विभिन्न पालिका र १० जना जिल्ला बाहिरका रहेको उनले बताए । उनका अनुसार दुई दिन अघि मात्र ३२ जना यही नाका भएर नेपाल प्रवेश गरेका छन् । उनीहरुमध्ये केहीलाई सम्बन्धित पालिकाले लगिसकेको र बाँकी रहेकालाई क्वारेन्टाइनमा सुरक्षित तवरले राखिएको उनले बताए ।
त्यसैगरी आज विहान मात्र कचनकवल गाउँपालिकाको सीमा क्षेत्रमा ६४ जना नेपाली आइपुगेका छन् । उनीहरुमध्ये १० जना पाठामारी र ५४ जना केचनाको सीमा क्षेत्रमा रहेका छन् । सीमा रहेका सुरक्षाकर्मीहरुले उनीहरुलाई त्यही रोकेर राखेका छन् । कचनकवलमा यसअघि भारतबाटै आएकाहरु मध्ये १० जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।
सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई तत्काल उद्धार गरेर ल्याउँने तर भारततिर नफर्काउँने प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए । उनीहरुलाई राख्नका लागि होल्डिङ सेन्टर र क्वारेन्टाइनको जिल्लामा व्यवस्था गरिएको उनले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले पूर्वी नाका काँकडभिट्टामा प्रवेश गर्ने नेपालीका लागि मेचीनगरमा, झापा गाउँपालिकाको सीमा क्षेत्रबाट आउनेलाई कनकाई नगरपालिकास्थित कनकाई क्याम्पस, भद्रपुर र कचनकवलका सीमा क्षेत्रबाट आउनेका लागि राख्न मेची बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर तयारी गरिएको जानकारी दिए ।
उनले सीमा क्षेत्रबाट उद्धार गरेर ल्याइएका नेपालीहरुलाई जिल्लाभित्रका भए सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइने र जिल्ला बाहिरका भए स्वास्थ्य परीक्षण पछि सम्बन्धित जिल्ला तथा प्रदेशमा पठाइने व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार सीमा क्षेत्रमा आएर रोकिएका नेपालीका संख्या एक हजार बढी रहेका छन् ।
दुई दिन अघि पानीटेंकी, नक्लबाडी क्षेत्रमा रहेका एक हजार नेपालीलाई उद्धार गरेर नेपाल ल्याउने तयारी गरिएको थियो । तर, संघीय सरकार र भारत सरकार दुवैको आदेश नआएको हुँदा उनीहरुलाई ल्याउन नसकिएको उनको भनाई छ ।