विराटनगरः भारत सीमाबाट ह्वारह्वार्ती मानिसहरु भित्रन थालेपछि उनीहरुलाई सीमावर्ती क्षेत्रममै व्यवस्थापन गरिएका होल्डिङ एरियामा राख्न शुरु गरिएको छ । 

प्रदेश १ मा भारतको बिहार र पश्चिमबंगाल राज्यको विभिन्न नाका हँुदै मानिसहरु नेपालतर्फ भित्रन थालेका छन् । क्वारेन्टाइनकै स्वरुपमा सार्वजनिक विद्यालय, कलेज तथा सामुदायिक र धार्मिक भवनहरुमा निर्माण गरिएका यस्ता एरियामा मानिसहरुको संख्या थपिन थालेको छ ।
प्रदेश १ सरकारले भारतबाट आउने मानिसलाई सोझै गाउँवस्तीमा पुग्न र समुदायसँग घुलमिल हुन रोकेर कोरोना संक्रमणको जोखिम घटाउने रणनीतिअनुसार काम थालिएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिएका छन् । कार्कीले भने,‘‘गृहमन्त्रालयले भारतबाट आउने मानिसलाई रोक्नु भन्ने नै निर्देशन दिएको छ । तर, कतिपय नाकाबाट मानिसहरु लुकिछीपी पनि बस्तीसम्म आईपुग्ने गरेका छन् । यसरी आउनेलाई बस्ती पुग्नबाट रोक्न होल्डिङ सेन्टरमै रोकिरहेका छौं ।’’ त्यस्ता सेन्टरमा बस्ने मानिसको स्वास्थ्य परीक्षण गरेर मात्र सम्बन्धित पालिकासम्म पठाउने प्रबन्ध गरिएको मन्त्री कार्कीले सुनाए ।
पछिल्ला तीन दिनमा झापाको कचनकवलमा भारतबाट आएका २४ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै प्रदेश सरकारले उताबाट आउने मानिसको निगरानी र स्वास्थ्य परीक्षणमा गति दिएको मन्त्री कार्कीको दाबी छ । कचनकवल गाउँपालिकाले पाँचवटा वडामा लकडाउनमा कडाइ गरी मानिसहरुको आउजाउलाई कडा बनाएको पालिकाका अध्यक्ष अञ्जार आलमले बताएका छन् । कचनकवलमा तीन दिनमा एकसय ५० जना भित्रिएका छन् । आलम भनछन्,‘‘सबैलाई क्वारेन्टाइनमा राखेका छौं ।’’ उनले सीमा वारिपारी गर्नेमाथि निगरानी बढाइएको बताए ।
प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार भारतसंग साँध जोडिएका झापा र सुनसरीका विभिन्न १० स्थानमा होल्डिङ सेन्टर निर्माण भएका छन् ।
जसमध्ये अहिले कचनकवलमा भारतबाट भित्रिएकाहरुलाई होल्डिङ सेन्टरहरुमा राखिएको छ । सिमावर्ती यी दुई जिल्लामा मात्र जम्मा १ हजार ४ सय ९५ जना मानिस राख्न मिल्ने सेन्टर निर्माण गरिएको छ । झापाको भद्रपुर नपाको मेची क्याम्पस र कचनकवल गाउँपालिका ३ को लक्ष्मी प्रसाद देवकोटा माविमा होल्डिङ एरिया संचालनमा छ ।
यसैगरी सुनसरीतर्फ सलफिया मदर्सा कोशी गाउँपालिका वडा नम्बर ५, व्यक्तिको घर कोशी गापा, जनता मावि भोक्राहा नर्सिङ, जामिया जियाउल उलुङ मदर्शा भोक्राहा नर्सिङ ७, स्लामिक पब्लिक स्कुल हरिनगरा ५, दारुल आलुम अलसुफा मदर्शा देवानगंज ३, स्वास्थ्य चौकी देवागंज र गढी निमावि औरावनी २ मा एक सयदेखि दुई सय बेड क्षमताको होल्डिङ एरिया तयार गरिएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले साना नाकाबाट लुकेर नेपाल प्रवेश गर्ने क्रम पनि बढ्दो क्रममा पाइएकोले सशस्त्र प्रहरीले निगरानी बढाएको जानकारी दिदैं भने,‘‘होल्डिङ एरियामा ल्याइनेहरुको विवरण अद्यावधिक गर्ने, स्वास्थ्य परीक्षण गराउने र सम्बन्धित पालिकामा पठाउने काममा प्रदेश सरकारले काम गरिरहेको छ ।’’ यसमा स्थानीय प्रशासन र स्थानीय तहलेसमेत समन्वय गरी काम गरिरहेको मन्त्री कार्कीले जानकारी दिए । संक्रमितहरुलाई भने प्रदेश सरकारले नै निर्माण गरेको कोशी कोभिड १९ अस्पताल विराटनगर र वीपी प्रतिष्ठान धरानमा उपचार प्रबन्ध गरिएको छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ मा भारतबाट भित्रने तथा अन्य समेत गरेर सरकारले कोरोना परीक्षणको गति बढाउने तयारी गरेको बताउँदै भने,‘‘दश दिनमा दश हजार मानिसमा कोरोना परीक्षण गर्ने सरकारको तयारी छ ।’’
प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बुधबारसम्म बस्नेको संख्या कूल १ हजार ११ जना रहेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ९ जना छन् । आइसोलेसनबाट बुधबार ४ जना डिस्चार्ज भएका छन् । होम क्वारेन्टाइनमा जम्मा ८ हजार ४ सय ६३ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।