धरानः ५० टन बेसार उत्पादन गर्ने लक्ष्य सहित लकडाउनकै बीचमा धरान २० विष्णुपादुका माछामाराको प्रगती बेसार उत्पादन कृषक समुहले सामुहिक बेसार खेती शुरु गरेको छ । सो समुहमा आवद्ध १९ घरपरिवारले १५ विगाहा जमिनमा सामुहिक बेसार खेती शुरु गरेको समुहको अध्यक्ष प्रेमकुमार राईले बताए ।
सामुहिक खेती गर्नुको अर्को उद्धेश्य भनेको किसानहरूलाई संगठित गर्नुभएको अध्यक्ष राईले बताए । युवा पुस्ता कृषिबाट पलायन भइरहेको अवस्थामा यस सामुहिक खेती युवालाई समेटेर स्वरोजगार बनाउने तथा अन्य रोजगार सृजना गर्ने लक्ष्य लिइएको उनको भनाई छ । सामुहिक बेसार खेतीले किसानहरूलाई संगठित बनाउने उद्देश्य समेत राखेको छ । धरानमा बेसारको पकेट क्षेत्र रहेको विष्णुपादुकामा अघिल्लो वर्षहरूमा व्यक्तिगत खेती गर्दै आएकोमा यस पटक भने सामुहिक खेतीको सुरूवात गरिएको अध्यक्ष राईले बताए ।
केही घरले तालिम लिएर उत्पादन सुरू गरेको राईले बताए । मौसम तथा मल सबै मिलेमा यसबाट करिब ५० टन किलो बेसार उत्पादन हुनेछ । एक किलो बेसारको अहिले १ सय ४५ रूपैँया बजार मुल्य रहेको छ । यसरी यो संख्या उत्पादन भए साढे ७२ लाख भन्दा बढीको उत्पादन हुने अध्यक्ष राईको भनाई छ ।

besar

 

सामुहिक खेतिका लागी निजी लगानी रहेको छ । प्रधानमन्त्री कृषि जोनमा आबद्ध भएर प्रस्ताव पेश गर्ने तयारी गरिरहँदा लकडाउन सुरू भएको उनले बताए । उत्पादित बेसार आफ्नै समुहले खरिद गरी बजारसम्म पुर्याउने योजना रहेको उनले बताए । निकट भविष्यमा समुहको सदस्यहरू बढाउँदै लैजाने समुहका सचिव चक्र राईले बताएका छन । बाँझै राखिएको घारीले भरिएको जग्गालाई लिजमा लिएर दुई महिना लगाई बेसार लगाउन योग्य बनाइएको सचिव राईले बताए । सो जमिनमा १ हजार ४ सय २५ किलो बेसारको बीउ रोपिसकिएको छ । किलोको ६० रूपैँयाका दरले ८५ हजार ५ सयमा बीउ खरिद गरिएको हो । १९ घरको दैनिक एक जना खेताला दुई महिनासम्म उपलब्ध गराइएको थियो । खेतीको लागी दैनिक पाँच हल गोरू १५ दिन भन्दा बढी लागेको सचिव राईले बताए । एक जना खेतालाको दैनिक ६ सय रूपैँया ज्याला लाग्ने तथा एक हल गोरूको दैनिक १ हजार लाग्ने उनले बताए । यसरी हिसाब गर्दा किसानहरुको लगानी ठूलो रहेको सचिव राईको भनाई छ ।
बेसारको खेतीका लागि बीउ रोप्ने उत्तम समय चैत्र र बैशाख भएपनि त्यस बेला सबैले आआफ्नो बारीमा खेती लगाएकाले थिए । घर घरमा खेती लगाईसकेपछि सो १५ विगाह जग्गामा सामुहिक खेती लगाइएको सचिव राईले जानकारी दिए । उनका अनुसार खेतमा लगाइएको बेसार करिब ६ महिना अर्थात मंसिरमा उत्पादन भइ बजारमा बिक्रीका लागि लगिने छ । रोपेपछि सेउलाले छोपेको बिउँमा एकपटक र नछोपेकोमा दुई पटक गोडमेल गर्नुपर्ने हुन्छ । धरान उपमहानगरपालिकाले यस क्षेत्रलाई बेसारको पकेट क्षेत्रको रुपमा घोषणा समेत गरिसकेको छ ।