संखुवासभाः नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की सुत्केरी गंगा कार्कीको मृत्यु भएको छ । शुक्रबार राति साढे १० बजे उपचारका क्रममा काठमाण्डौंको थापाथली स्थित प्रसूति गृहमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी मिमबहादुर लामाले बताए ।
बच्चा गुमाएकी ३२ वर्षीया कार्कीलाई सेनाको हेलिकप्टरबाट शुक्रबार ४ बजे काठमाडौं लगिएको थियो । खाँदबारी–६ पांठा घर भएकी उनलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनलाई उद्धार गरेर थप उपचारका लागि लगिएको थियो ।
प्रसव पीडाले च्यापेपछि कार्की चैत ४ गते जिल्ला अस्पताल खाँदबारीमा सुत्केरी हुन भर्ना भएकी थिइन् । तर उनको पेटमा रहेको बच्चा अप्ठ्यारो गरेर बसेको चिकित्सकले पत्ता लगाएपछि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको थियो । नोबेल अस्पतालमा मृत शिशु जन्मेपछि उनी बेहोस भएकी थिइन् । त्यहाँ उनका परिवारले २ लाखभन्दा बढी खर्च गरेका थिए । अस्पतालमा शुल्क तिर्न नसकेपछि कार्कीलाई परिवारले घर फर्काएको थियो ।

received_177800370221944