भद्रपुरः झापाको भारतीय सीमाबाट उद्धार गरी ल्याइएका नेपालीहरुमा कोभिड–१९ को सङ्क्रमण धेरै सङ्ख्यामा देखिए तापनि सरकारी निकायले होशियारीपूर्वक व्यवस्थापकीय कार्य गरेका कारण उनीहरुबाट समुदायमा सङ्क्रमण फैलिन पाएको छैन ।
विगत सात दिन यता झापाको काँकडभिट्टा, भद्रपुर, कचनकबल, टाघनडुब्बा र गौरीगञ्ज नाकाबाट १२ सय जना नेपाल प्रवेश गरेका छन् ।
जसमध्ये झापाका २०० जनालाई आफ्नै पालिकाको क्वारेन्टाइनमा सोझै पुर्याइएको छ भने एक हजार जना विभिन्न होल्डिङ सेन्टर र सीमा नजिकका क्वारेन्टाइनमा बसेका छन् ।
भारतबाट आएका ६६ जनालाई विराटनगर र धरानमा पीसीआर टेस्ट गरिदा ३३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भइसकेको छ । ती सबै दक्षिणी गाउँपालिका कचनकबलका छन् । झापाका कुल सङ्क्रमित ३५ जना हुन् । दुईजना निको भएर घर फर्किसकेका छन् । सङ्क्रमित सङ्ख्या प्रदेश नं. १ कै उच्च हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले सीमाबाट उद्धार गरिएका ३३ जनामा कोरोना सङ्क्रमण भएको पाइए पनि उनीहरुलाई उद्धार गर्दा र क्वारेन्टाइनमा पुर्याउँदा अत्यन्त सजगता अपनाइएको बताए ।
‘सीमामा आइपुगेका नेपालीहरुलाई भारततिरै फर्क भन्न सकिदैन, हामीले तत्काल उद्धार गर्यौं,’ प्रहरी उपरीक्षक कोइराला भन्छन्, ‘व्यवस्थित ढङ्गले क्वारेन्टाइनमा राख्यौं, त्यहीकारण उहाँहरुको सम्पर्कबाट समुदाय जोगियो ।’ झापामा भारतबाट आएका सङ्क्रमितहरुबाट समुदायको एक जनामा पनि कोरोना नफैलिएको उनले बताए ।
रेल यातायात सञ्चालन भएपछि भारतको विभिन्न सहरमा भएका नेपालीहरु स्वदेश फर्कने क्रम तीब्र छ । उनीहरुलाई झापाको सीमा क्षेत्रसम्म आएपछि नेपाली पक्षबाट सुरक्षित किसिमले उद्धार हुँदै आएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती बताउँछिन् । काँकडभिट्टा नाकाबाट मात्र एक हजार नेपाली भित्रिइसकेका छन् ।
मध्यरातमा सीमाबाट भित्रिएका नेपालीहरुलाई समुदायमा मिसिन नदिई उद्धार गर्दै होल्डिङ सेन्टर र क्वारेन्टाइनमा जनप्रतिनिधि र प्रहरीले पुर्याउने गरेको मेचीनगर–६ काँकडभिट्टाका वडाअध्यक्ष ललित तामाङले बताए ।
सीमाबाट भित्रिरहेका नेपालीहरुलाई समुदायमा मिसिन नदिन सीमाको पहिलो पङ्तिमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता र रेडक्रसकर्मीहरुले सघाउने गरेका छन् ।
विहीवार मध्यरातमा काँकडभिट्टा नाकाबाट ३०० नेपाली भित्रिएका थिए । उनीहरुलाई मध्यरातमै सीमा क्षेत्रबाट उद्धार गरी यातायातको साधन प्रयोग गरी काँकडभिट्टा माविमा रहेको होल्डिङ सेन्टर, धाइजनस्थित स्वास्थ्य चौकी र इटाभट्टास्थित आदर्श माविमा रहेको क्वारेन्टाइनमा पुर्याइएको मेचीनगरकी उपप्रमुख उप्रेतीले जानकारी दिइन् । उनीहरुमध्ये १४५ जनाको शुक्रवार आरडीटी टेस्ट गर्दा १५ जनामा एन्टीबडी पोजेटिभ भेटिएको छ ।
भारतबाट नेपाली सीमामा प्रवेश गरिसकेपछि उनीहरु आफ्नो घर पुग्ने हतारोमा हुने गरेका छन् । आफुखुशी घर नपुगुन् भनेर मध्यरातमै बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल आफ्नो पालिकाका बासिन्दालाई उद्धार गरी लैजान मेची पुलसम्म पुगेका थिए ।
उनले भारतबाट आएका आफ्ना पालिकाका बासिन्दालाई समुदायसँग सम्पर्क नहुने गरी सुरक्षित रुपमा क्वारेन्टाइनमा राखेका छन् । यसकारण पनि समुदायमा भारतबाट आएकाहरुले घुलमिल हुन पाएका छैनन् ।
भारतबाट आएर झापाको होल्डिङ सेन्टर र क्वारेन्टाइनमा बसिरहेकाहरु ६६ जिल्लाका बासिन्दा छन् । उनीहरु अधिकांश भारतको कोभिड–१९ को सङ्क्रमण चरम रुपमा फैलिएको दिल्ली र मुम्बईबाट आएका हुन् । कोभिड–१९ को जाँच नगरी उनीहरुलाई आफ्नो जिल्लामा नपुर्याइने जिल्लास्थित कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा अनुगमन समितिका संयोजक सोम पोर्तेलले बताएका छन् । रासस