विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । गणतन्त्र दिवस २०७७ को अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा मुख्यमन्त्री राईले शुभकामना व्यक्त गरेका हुन्।
मुख्यमन्त्री राईले आज एक शुभकामना सन्देश जारी गर्दै गणतन्त्र प्राप्तिको आन्दोलनका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । उनले गणतन्त्रको आन्दोलनमा आ–आफ्नो ठाउँबाट सहयोग र सद्भाव व्यक्त गर्नुहुने सम्पूर्ण नेपालीमा हार्दिक आभार समेत व्यक्त गरेका छन् ।
‘मुख्यमन्त्रीको सन्देशमा भनिएको छ, सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १३ वर्ष भएको छ । नेपाली जनताको लामो त्याग र बलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधिमार्फत निर्माण भएको नेपालको संविधानबमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको ऐतिहासिक महत्वका निर्वाचन सम्पन्न भई मुलुक नयाँ मोडमा अगाडि बढिरहेको छ ।
विश्वमा लोकप्रिय तथा समृद्ध पद्धतिको रूपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै गएको मुख्यमन्त्री राईको भनाई छ । गणतन्त्र दिवसले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता कायम गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणमा अगाडि बढ्न एवं कोभिड—१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।