इटहरीः गर्मी बढेसंगै नेपालमा डेंगु रोगको जोखिम बढेकाले सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैमा अनुरोध गरेको छ । यो बर्षपनि पौषदेखि यता नेपालका २६ जिल्ला डेंगु रोगबाट प्रभावित भएको मन्त्रालयले जनाएको छ ।
२६ जिल्लामा यो रोगबाट संक्रमित हुनेहरुको संख्या ८२ पुगेको मन्त्रालयद्धारा नियमित रुपमा आयोजना हुने पत्रकार सम्मेलनमा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डेले बताए ।
उनका अनुसार लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोगको संक्रमण यो बर्ष प्रदेश नम्बर १ का ६ जिल्लामा देखिएको छ । ६ जिल्लाका १३ जनामा यो रोगको संक्रमण देखिएको डा. पाण्डेले बताए । उनका अनुसार डेंगु रोग सुनसरीमा ४ जना, मोरङमा ३ जना, धनकुटा २ जना, तेह्रथुममा २ जना , उदयपुरमा १ र झापामा १ जनामा लागेको छ । सबै विरामीहरुको उपचार भईरहेको डा. पाण्डेले बताए ।
यो रोगका गत बर्ष नेपालमा महामारीकै रुपमा फैलिएको थियो ।

unnamed डा. पाण्डेका अनुसार यो रोगबाट गतबर्ष नेपालका ६८ जिल्ला प्रभावित भएका थिए । जसमा १६ हजारमा डेंगु रोग संक्रमण भएको थियो । जसमा ६ जनाले ज्यान गुमाउनु परेको थियो । यो बर्षपछि नेपालका धेरै जिल्लाहरुमा लामखुट्नेको बिगबिगी बढेकाले डेंगु रोग संक्रमण हुन सक्ने उनले बताए ।
मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाका अनुसार कोभिड १९ भएका केही व्यक्तिहरुलाई डेंगु रोगको समेत संक्रमण देखिएकाले सबैले यो रोगबाट जोगिन पर्ने अवस्था आएको छ । यो रोगले खासगरि तराईका जिल्लाहरुमा बढी प्रभाव पार्ने गरेको छ ।
नेपालमा यो रोग १६ बर्षअघि अर्थात सन २००४ मा पहिलो पटक देखा परेको थियो । २÷३ बर्ष यता भने नेपालमा पनि यो रोग महामारीका रुपमा गर्मीका समयमा हुँदै आएको निर्देशक पाण्डेले बताए । उनका अनुसार कोभिड १९ को माहामारीसंगै विश्वका आधा जनसंख्या डेंगुरोगको संक्रमणको जोखिममा रहेका छन् ।