इनरुवाः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका कर्मचारीहरुले कार्यालयको कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् ।
प्रमुख प्रशासकीय अधिकृतको नेम प्लेट बोकेर सार्वजनिक स्थानमा बदनाम गर्दै हिडेको विषयलाई लिएर कर्मचारीहरुले भोलिबाट कार्यालयको कामकाज ठप्प पार्ने जनाएका हुन् ।
उनीहरुले कर्मचारीको बेइजत गर्दै हिंड्ने व्यक्तिलाई कार्वाहीको दायरामा नल्याईए कामकाज रोक्ने जनाएका हुन् ।
कार्यालयका कर्मचारीहरुले जनता माविका व्यवस्थापन समितिका अध्यक्ष बाबुराम साहले प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेको नामको नेम प्लेट बोकेर गाउँवस्ती र टोलमा गई बदनियत ढङ्गले दुस्प्रचार गरेको विषयलाई आफुहरु माथिको सामूहिक बेइजतीका रुपमा लिइएको बताए ।
प्रशासकीय अधिकृत घिमिरेले कर्मचारीको बदनाम गर्दै हिडेको पाइएकाले कार्यालयमा गएर काम गर्ने अवस्था नभएको प्रतिकृया दिए । उनले सम्पूर्ण कर्मचारी कार्यालयको कामकाज ठप्प गर्ने अवस्थामा पुगेको बताए ।
साहले अधिकृत घिमिरे उपर कार्यालयमा उपस्थित नरहने गरेको आरोप लगाएका छन् । अधिकांश समय कार्यालय बाहिर रहने हुँदा जनताका काम बाधा हुन पुगेको भन्ने साहको आरोपलाई अधिकृत घिमिरेले भने अस्विकार गरेका छन् । उनले सुनियोजित रुपमा आफ्नो बदनाम गराउने काम भएको प्रतिकृया दिएका छन् ।
कर्मचारीहरुले बेइजत गर्ने व्यक्तिले सार्वजनिक रुपमा माफी माग्नु पर्ने र उनीमाथि कानुनी कार्वाही समेतको अडान राखेका छन् । स्रोतका अनुसार अध्यक्षले बन्द कोठामा माफी मगाउन लगाउने प्रस्ताव गरेकोमा कर्मचारीहरुले आफुहरुलाई स्विकार्य नहुने जवाफ फर्काएका छन् ।
उता सो विषयमा गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले घटनाको विषयमा आफु छानविनमा जुटेको बताए । अध्यक्ष यादवले अधिकृत कार्यालयमा उपस्थित नहुने गरेको भन्ने विषयमा सत्यता भने नरहेको बताए ।
कोरोना भाइरसको संक्रमणका कारण कर्मचारीहरु आवश्यक्ता अनुरुप कार्यालयमा आउने जाने गरेको उनले बताए । अधिकृत घिमिरे कार्यालयमा संधैजसो आउने गरेकाले उनी माथीको आरोप झुटो भएको यादवले बताए । अध्यक्ष यादवले दुवै पक्षलाई राखेर छलफलको माध्यमबाट निकाश निकाल्ने बताए ।