इटहरीः पछिल्लो समय दक्षिण एसियाली देशहरुमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप व्यापक देखिएको छ ।

कोरोना भाइरसबाट दक्षिण एसियाली देशहरूमध्ये भारत सबैभन्दा बढी प्रभावित भएको छ । केही बेरअघिको रेकर्ड अनुसार भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५७ हजार ५०६ जना भन्दाबढी पुगेको छ । भारतमा कोरोना संक्रमणकै कारण सात हजार २ सय ७ जनाको मृत्यु भईसकेको छ । गत २४ घण्टामा भारतमा १० हजार ८ सय ८४ नयाँ संक्रमित थपिएका छन् ।
सबैभन्दा कम प्रभावित दक्षिण एसियाली मुलुक भुटान रहेको छ । भूटानमा आइतबारसम्म ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यहाँ हालसम्म कोरोनाका कारण कसैको निधन भएको छैन ।

दक्षिण एशियामा दोस्रो बढी प्रभावित मुलुक पाकिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या ९८ हजार ९४३ पुगेको छ भने दुई हजार २ जनाले ज्यान गुमाएका छन् । बंगलादेशको अवस्था पनि डरलाग्दो छ।

त्यस्तै बङ्गलादेशमा ६५ हजार ७६९ व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ८८८ जनाको मृत्यु भएको छ । यसैगरी अफगानिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ३४२ पुगेको छ भने ३५७ जनाले ज्यान गुमाएका छन् । दक्षिण एसियामा अफगानिस्तानपछि कोरोनाबाट बढी प्रभावित मुलुकको सूचीमा नेपाल रहेको छ ।

हालसम्म नेपालमा तीन हजार ४४८ जनामा कोरोना पुष्टि भएको छ भने कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । यस्तै माल्दिभ्समा अहिलेसम्म एक हजार ९०१ जनामा कोरोना देखिँदा ८ जनाको मृत्यु भएको छ । श्रीलंकामा एक हजार ८१९ सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भएको छ ।