इटहरीः कोरोना संक्रमणका कारण नेपालमा १६ औं व्यक्तिको मृत्यु भएको छ । अर्घाखाँचीका एक ५७ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जिल्लाको मालारानी क्वारेन्टाइनमा रहेका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी घर फर्किने क्रममा बाटोमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। योसँगै नेपालमा मृतकको संख्या १६ पुगेको छ।
जेठ २९ गते भैरहवामा भएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो। उनी भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका थिए। उनको अर्घाखाँचीमै अन्तेष्टि गरिने भएको छ। नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ। प्रवक्ता गौतमका अनुसार शुक्रबार एकैदिन ४ सय ४८ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको हो। जसमा ४ हजार ७ सय ९ जना पुरुष र ३ सय ५३ जना महिला रहेका छन्।