इटहरीः नेपालको पूर्वी क्षेत्रको रिफरल केन्द्र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवश्यक सिटि स्क्यान मेसिन खरिद गर्ने प्रक्रिया सुरु भएको छ ।
प्रतिष्ठानमा रहेको सिटि स्क्यान मेसिन बर्षौं देखि बिग्रिएको अवस्थामा नयाँ उपकुलपति नियुक्ति सँगै आधुनिक सिटि स्क्यान मेसिन उपकरण खरिद प्रक्रिया शुरु भएको हो ।
आर्थिक बर्ष समाप्त हुनै लाग्दा प्रतिष्ठानको पहललाई सकारात्मक लिँदै स्वास्थ्य मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयद्वारा रकमान्तर गरिएको २० करोड बजेटसँगै प्रतिष्ठानले अत्याधुनिक उच्च क्षमताको २५६ स्लाइस सिटि स्क्यान मेसिन खरिद प्रक्रिया सुरु गरेको हो ।
प्रतिष्ठानले उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवालाई अझ बढी प्रविधिमैत्री, सर्वसुलभ र नमुना अस्पताल बनाउने उद्देश्यका लागि अत्याधुनिक उच्च क्षमताको २५६ स्लाइस सिटि स्क्यान मेसिन खरिद गर्ने प्रक्रिया पहिलो पाईला रहेको प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले बताए । यसअघि अस्पतालमा १६ स्लाइसको मेसिन उपलब्ध भए पनि बारम्बार बिग्रिएका कारण सेवा अवरुद्ध रहेको अवस्थामा अत्याधुनिक नयाँ सिटी स्क्यान मेसिन खरिद प्रक्रिया सुरु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।