इटहरी: नेपालमा थप एक जना कोरोना भाइरसका कारण मृत्यु भएको छ । मृत्यु हसने गुल्मी जिल्लाका रहेका छन् । रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको उपचारमा खटिएका डा. कविराज भुसालले बताए ।
शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।
भारतबाट आएर धुर्कोटको क्वारेन्टिनमा रहेका बेला जेठ १२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनले जेठ १३ गतेदेखि तम्घासमा रहेको आसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो ।
तर उनी २ वर्षदेखि आन्द्राको क्यान्सरबाट पनि पीडित भएकाले उपचार कठिन भएको थियो । उनमा रक्त अल्पताको समस्या देखिएपछि उनकै उपचारमा खटिएकी स्वास्थ्यकर्मीले रगत दिएकी थिइन् । उनको ३ पटकसम्म गरिएको स्वाब परीक्षणमा पोजिटिभ रिपोर्ट आएको थियो ।