बेलबारीः विपन्न बर्गलाई घर निर्माणको लागि बेलबारी नगरपालिकाले शुरु गरेको जनता आवास कार्यक्रममा व्यापक भ्रष्टाचार भएको स्थानीयहरुले बताएका छन् ।
नगरपालिकाले सञ्चालन गरेको जनता आवास कार्यक्रम अन्तर्गत अहिले बेलबारी वडानम्बर ३,४ र ११ मा गरी जम्मा १ सय १ घर निर्माण भैरहेका छन् । तर, विपन्नहरुका लागि बनाइएका घरहरुमै सम्झौता विपरितका गुणस्तरहिन निर्माण सामग्रीहरु प्रयोग गरेर व्यापक भ्रष्टाचार गरिएको स्थानीयको भनाई छ ।
आवास विहिन विपन्नहरुलाई राहत दिने लोकप्रिय मानिएको नगरपालिकाको कार्यक्रम अन्तर्गत घर निर्माणका कार्यमै भ्रष्टाचारको स्पष्ट संकेतहरु देखिएपछि लाभग्राहीको सुचीमा परेका विपन्नमाथी समेत यसको मार परेको छ । बेलबारी नगरपालिका आवास निर्माण सम्बन्धी सम्झौता अनुसार बेलबारी नगरपालिका,ह्याबीट्याट फोर ह्युमानिटी नेपाल(ह्याबीटेट नेपाल) र सहारा नेपालले संयुक्त सहभागितामा विपन्नका लागि घर निर्माण गर्ने उल्लेख छ । । यसरी निर्माण हुने घरहरु कम्तीमा १६ बाई २० फिट आकारको हुनुपर्ने, १० बाई १० का दुई वटा कोठा,बरण्डामा १ कोठा, बाँसको टाटी भएको, काठ प्रयोग गरेर रंगिन जस्तापाताको छाना सहितको हुनेछन् ।
प्रति घर निर्माणका लागि बेलबारी नगरपालिकाले १ लाख ५० हजार खर्च गर्ने,ह्बाीटेट नेपालले १ लाख खर्च गर्ने र उपभोक्ता समितिले ८६ हजार ५ सय ६३ रुपैयाँ बराबरको श्रम सहभागिता सहित कुल ३ लाख ३६ हजार ५ सय ६३ रुपैयाँको लागतमा घर निर्माण सम्पन्न हुने सम्झौता पत्रमा उल्लेख छ ।
घर निर्माण कार्य सञ्चालनका लागि गठित विपन्न घरपरिवार घर निर्माण उपभोक्ता समिति र नगरपालिका विच भएको योजना सम्झौता अनुसार निर्माण हुनुपर्ने घरहरुमा १ नम्बर इँटा प्रयोग गर्नुपर्ने, जस्तापाता ०.४१ मिमि २६ गेज हेभी रंगिन जस्तापाता प्रयोग गर्नुपर्ने, ओपिसी सिमेन्ट प्रयोग गर्नुपर्ने स्पष्ट छ । तर, अहिले निर्मित भएका घरहरुमा १ नम्बर इँटा प्रयोग नगरी गुणस्तरहिन इँटाहरु प्रयोग गरेको पाइएको छ । छानाका लागि ०.३२ मीमीको मात्रै जस्तापाता प्रयोग गरिएको छ ।
बेलबारी नगरपालिका उच्च स्रोतले दिएको जानकारी अनुसार ह्याबीटेट नेपालका तर्फबाट घर निर्माणमा हुनुपर्ने खर्चका क्रममा व्यापक अनियमिता भएको छ । ह्याबीटेटले १ घर निर्माणका क्रममा छानाका लागि १ लाख रुपैयाँ खर्च गर्नुपर्नेमा अहिले उसका तर्फबाट करिब ६३ हजार रुपैयाँ मात्रै खर्च भएको स्रोतको दाबी छ ।यही तरिकाले खर्च हुँदा ह्यबीटेटले गर्ने खर्चबाट प्रतिघर ३७ हजार रुपैयाँ जोगिन आउँछ । जम्मा १ सय १ घर निर्माण भैसक्दा यो रकम ३७ लाख ३७ हजार पुग्छ ।
काठ जस्तापाता जस्ता छानाका लागि आवश्यक सामग्री उपभोक्ता समितिले नै खरिद गर्ने भनिएपनि संस्थाका प्रतिनिधिले नै आफै खरिद गरेको पाइएको छ । आफै सामान खरिद गर्ने र कम खर्च गरेर कमाउने नियत स्पष्ट रहेको नगरपालिका स्रोतकै दावी छ । उपभोक्ता समितिसँग भएको योजना सम्झौतामा ह्याबीटेट नेपालले सम्झौता बमोजिमको रकम सिँधै उपभोक्ता समितिलाई भुक्तानी गर्ने समेत स्पष्ट उल्लेख छ । स्थानिय सरकारसँग सहकार्य गरेर भैरहेको काममा साझेदार संस्थाले रकम नगरपालिकामा जम्मा नगरी सिधै उपभोक्तालाई भुक्तानी गर्ने विषय महत्वका साथ योजना सम्झौतामा उल्लेख हुनुले पनि अनियमिताका लागि सजिलो बाटो खोलीदिएको स्पष्ट हुन्छ ।
सम्झौतामा घरको जग,पिल्लर लगायतका कामका लागि नगरपालिकाको रकम खर्च गर्ने उल्लेख छ । तर, ती कामका लागि इँटानै तोकिएको भन्दा कम गुणस्तरको प्रयोग भएको छ । प्रावीधिक पक्ष हेरीरहेका सहारा नेपालका इन्जिनियर अनिल घिमिरेले केही ठाउँमा बालुवा गुणस्तरहिन रहेको आँफैले स्विकारेका छन् ।
केही वडामा भने निर्माण समिति हुँदाहुँदै चोरबाटो अपनाई सम्झौतामै उल्लेख नभएको सहयोग समितिका नामबाट समेत रकम खर्च गरेको पाइएको छ । सम्झौता अनुृसार नै गठित र महत्वपुर्ण भुमिका समेत रहने विपन्न घरपरिवार घर निर्माण उपभोक्ता समितिहरुलाई पनि ‘डमी’ को रुपमा मात्रै प्रयोग गरेर महत्वपुर्ण खर्च अन्य ठाउँबाटै भएको हो । बेलबारी नगरपालिका र निर्माण सम्बन्धी साझेदार संस्था सहारा नेपाल बिच दोहोरो प्रकृतिको सम्झौता भएको, निर्माण अघि पुरा गर्नुपर्ने घरनक्सा पास लगायतका काम नगरी निर्माण कार्य भैरहेको समेत पाइएको छ ।
बेलबारी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रदिप शाहले भने योजना सम्बन्धी सम्झौता लगायत प्रकृयामा केही प्राविधिक त्रुटी भएको बताएका छन् । शाहले नगरपालिका,सहारा नेपाल र ह्याबीटेट नेपाल बसेर भएका त्रुटीहरु सच्याउने बताए । यस्तै निर्माण कार्यको अनुगमन गर्ने र कमसल सामग्री प्रयोग भएको पाइए स्थगन गरेर सम्झौता अनुसारकै काम गराइने उनले बताएका छन् ।
यसैविच नेपाली कांग्रेस बेलबारी नगर समितिले भने आवास निर्माणका क्रममा बेलबारी नगरपालिका सहित साझेदार संस्थाहरुको मिलेमतोमै घोटाला भएको दावी गरेको छ । बुधबार विज्ञप्ती जारी गर्दै कांग्रेसले बेलबारी नगरपालिका ,सहारा नेपाल,ह्यावीटेट फर ह्युमानिटी नेपाल समेतको मिलेमतोमा व्यापक भ्रष्टाचार भएको भन्दै यस्ता घृणित कार्य गर्नेहरु माथी कानुनी कारवाही गर्न माग गरेको छ । नगर सभापति शम्भु भट्टराई र सचिव उपेन्द्र सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तीमा जिम्मेवार संस्थाका व्यक्तिहरु बाटै आर्थिक अनियमितता हुनु गरिबमारा कार्य भएकाले यस्तो निन्दनिय गतिविधिहरु पुनः नदोहोर्याउन चेतावनी समेत दिएको छ ।
यस अघि जनता समाजवादी पार्टी बेलबारी नगरसमितिले पनि विज्ञप्ती जारी गर्दै जनता आवास निर्माणका क्रममा भएको घोटालाबारे छानविन गर्न माग गरेको थियो ।