धरान: सुनसरीको धरान स्थित सेउती खोलामा एक महिला मृत अवस्थामा भेटिएको छ
धरान १५ फूलबारी टोल बस्ने अन्दाजी ५० वर्षीय बिमला तामाङ मृत अवस्थामा खोलामा केटाकेटीहरूले देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार मृतकको साथमा केही तरल पदार्थ बोकेको गिलास, चक्कु र छोराहरूलाई सम्बोधन गरिएर लेखिएको पत्र भेटिएको थियो ।
मृतकले बमेट गरेको पाइएकोले उनले विष सेवन गरेर आत्महत्या गरेको जस्तो देखिएको भए पनि यसको अनुसन्धानका लागि पोस्टमार्टम रिपोर्टले बताउने प्रमुख डिएसपी बस्नेतले बताए । मृतकको साथमा भेटिएको पत्रमा छोराहरूलाई जग्गा १,१ कठ्ठा बाँड्नु र मेरो शवलाई बाउको छेउमा गाड्नु, ऋण तिर्न र लिन बाकीँ यति रकम छ, भनी छोराको फोन नं समेत उल्लेख गरेको भेटिएको प्रहरीले जनाएको छ । गिलासमा भएको वस्तु ल्याबमा परीक्षण गरेपछि मृत्युको कारण खुल्ने प्रहरीको भनाई छ । मृतकको शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगाएको छ ।