इटहरी :प्रदेश १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मोरङका १२ जना र झापा तीन जना गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताए ।
मोरङको रंगेली नगरपालिकाका ८ जना र सुन्दरहरैचा नगरपालिकाका ४ जनामा कोरोना पोजेटिभ देखिएको हो । त्यस्तै झापाको दमकमा एकजना र भद्रपुरमा दुईजनामा कोरोना पोजेटिभ देखिएको हो ।
कोशी अस्पताल विराटनगर र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि देखिएको हो । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४६३ पुगेको छ ।
एकै परिवारका चार जना
मोरङको सुन्दरहरैंचाको वडा नम्बर ९ मा एकै परिवारका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु हालै भारतबाट आएका व्यक्ति भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
सुन्दरहरैंचा नगरपालिकाले सञ्चालनमा ल्याएको सलकपुरस्थित कभर्ड हल र सुन्दरहरैंचा उद्योग वाणिज्य संघको हलमा उनीहरु रहेका थिए । नगरपालिकाका अनुसार उनीहरु जेठ ३ गते नेपाल आएका थिए ।
५ वर्षीय बालक र ७ वर्षीया बालिका तथा उनीहरुका ३६ वर्षीय बाबु र ३२ वर्षीया आमामा कोरोना पुष्टि भएको हो ।
।
यस अघि हिजो पनि सुन्दरहरैंचामा २ जनामा कोरोना पुष्टि भएको थियो । हिजो पुष्टि हुने १ जना भारतबाट र १ जना कुबेतबाट घर फर्किएका व्यक्ति थिए । जेठ महिनामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका सुन्दरहरैंचाका पहिलो संक्रमित भने डिस्चार्ज भइसकेका छन् । हाल सम्म सुन्दरहरैचामा मात्रै ७ जना पुगेका छन् ।