इटहरीः संगीतकार अर्जुन पोखरेलको संगीतमा गायक कृष्ण काफ्ले, अस्मिता अधिकारी, बुद्ध लामा र समिक्षा अधिकारीको संयुक्त आवाजमा तयार पारिएको नेपाली लोक पप गीत मैले बोलेको छैन ढाँटेर..को म्युजिक भिडियो सार्वजनिक गरीएको छ । नेपालका चार युवा गायन स्टारहरुद्धारा अभिनित तथा स्वरबद्ध रहेको म्युजिक भिडियोलाई विश्व संगीत दिवसका अवसर पारेर आईतबार रिलिज गरीएको हो । नेपसिनेमाको प्रस्तुतीमा द डिभाईन म्युजिकको युवट्युव च्यानल मार्फत म्युजिक भिडियोलाई सार्वजनिक गरीएको हो । चर्चीत संगीतकार अर्जुन पोखरेलद्धारा लिखित तथा संगीतबद्ध रहेको गीतमा चर्चित गायक कृष्ण काफले, अस्मिता अधिकारी, बुद्ध लामा र समिक्षा अधिकारीको गायन तथा अभिनय रहेको छ । काफ्लेले यस अघि धेरै सुपरहिट गीतहरुमा स्वर दिईसकेका छन् ।  लामा नेपाल आईडलका बिजेता समेत हुन ।
यस्तै अधिकारी पनि नेपाल आडलबाटै उदाएकी गायिका हुन । उनले यसअघि केही हिट गीतहरुमा स्वर दिईसकेकी छिन्, । युवट्युवबाट चर्चित बनेकी गायिका समिक्षा अधिकारीको पनि गीतमा दमदार स्वर तथा अभिनय रहेको छ । गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन्।

पत्रकारीताबाट यो क्षेत्रमा उदाएका कार्कीले पछिल्लो समय अमेरिकामा गएर चलचित्र निर्देशन सम्बन्धी अध्ययन गरेका थिए । उनले यस अघि पनि धेरै म्युजिक भिडियो निर्देशन गरीसकेका छन्, । यस अघिका भिडियोहरु भन्दा यो भिडियो र यसको कन्सेप्ट फरक रहेको निर्देशक कार्कीले बताए । गीत र भिडियो निकै आर्कषक बनेको कारण पनि दर्शकहरुले रुचाउने निर्देशक कार्कीको भनाई रहेको छ । लक डाउनका समयमा सामाजिक दुरी कायम गरी खिचिएको यो गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन भने सम्पादन विकाश दाहालको रहेको छ ।
गायक गायिकाहरु आफैले पहिलो पटक अभिनय गरेका कारण पनि यो गीतको भिडियो चल्ने अनुमान गरीएको छ । भिडियोेलाई फिल्मी शैलीको बनाईएको छ । दुई दाजुभाईले दुई दिदिबहिनीको प्रेमकथा बुनेको भिडियोले केही सकरात्मक सन्देश समेत प्रवाह गरेको छ । गीतलाई संगीतकार पोखरेलले निकै मिहेनत गरेको देखिन्छ । यो गीत र भिडियोले नयाँ रेकर्ड कायम गर्नेमा आफु विश्वस्त रहेको संगीतकार पोखरेलले बताएका छन् ।  भिडियोलाई नयाँ आयम दिन खोजीएको निर्देशक कार्कीले बताए ।