सङ्खुवासभा : जिल्लामा पहिलेदेखि चलिआएका मौलिक संस्कृति हराएका छन् । बदलिँदो परिवेशसँगै हाम्रा पुर्खाले आर्जेका ज्ञानहरू हराइसकेका छन् ।हिजो जुन रूपमा एउटा चक्र सरी ज्ञान, सीप र अभ्यासहरू सर्दै आइरहेका थिए । यो क्रम निरन्तर आधुनिकताका नाममा नाश हुँदै छ । हाम्रा पुर्खाले पहिलेदेखि प्रयोग गर्दै र सिक्दै आएका ज्ञानहरू उचित संरक्षण र अभिलेखीकरणको अभावमा आज हामीबाट गुम्ने स्थितिमा छन् । 
 
नेपाल त्यसै पनि कला र संस्कृतिको धनी देश भनेर चिनिन्छ तर वर्तमान समयमा यस्ता नेपालीका मौलिक संस्कृति हराउँदै गएका छन् । आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका कारण सङ्खुवासभामा रैथाने प्रविधि लोप हुँदै गएको छ । परम्परागत रूपमा प्रयोग गरिँदै आएका घरेलु मेसिनहरू हराउँदै गएका हुन् । 
 
करिब २ दशक अघिसम्म निकै चलनचल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग बिस्तारै घट्दै गएर लोप हुन थालेको हो । विभिन्न आधुनिक घरेलु मेसिनको प्रयोगपछि सङ्खुवासभामा यी घरेलु मेसिन विस्थापनमा परेका छन् । परापूर्वकालका मेसिन तथा औजारहरू एउटा मात्रै नभएर प्रायः सबै विस्थापित भइसकेका छन् । नेपाली समुदायमा यसका उदाहरण प्रशस्तै छन् । 
 
तुलो: तुलो विशेषत नेपाली समाजको ग्रामीण समुदायमा मासु जोख्नको लागि प्रयोग गरिने उपकरण हो ।  तुलो आजभोलि हराउँदै गएको छ । मासु तथा जोख्नयोग्य सामग्री तुलोबाट जोख्दा धार्नी, बिसौली, आठपोल आदि परिमाणमा जोखेर हिसाब निकाल्ने गरिन्थ्यो । तर आजभोलि आधुनिक सामग्रीका कारण यसको प्रयोग हुन छाडेको छ । 
तुलो प्रयोग त हुँदैन नै देख्नसम्म पाइँदैन । तुलोजस्तै अर्को सामग्री गण्डा पनि हो । यो जिल्लाको भोटखोला क्षेत्रमा प्रयोग गरिन्थ्यो । तर आजभोलि देख्न पनि पाइँदैन । 
 
झुलो चकमक: यो आगो निकाल्न (बाल्न) को लागि प्रयोग गरिने सामग्री हो । जसमा, दर्शन ढुङ्गा, फलामको टुक्रा, र केराको झुस प्रयोग गरिन्छ । दर्शन ढुङ्गा र फलामको टुक्रालाई घर्षण गराएर केराको झुस तथा नेपाली कागजमा आगो बालिन्थ्यो । अहिले यो पनि हराउँदै गएको छ । 
झुलो चकमकको ठाउँमा आधुनिक सामग्री सलाइ, लाइटर, ग्यास लाइटरलगायतको प्रयोग हुने गरेको छ । झुलो र दर्शन ढुङ्गालाई पानीले भिज्नबाट बचाउन ‘खिसा’ मा राखिन्थ्यो । खिसा छालाबाट बनाइएको हुन्थ्यो । 
 
घुम: परम्परागत रूपमा घरमा बाँसका चोया र रुख वा लहराका पातले बनाइएको पानी पर्दा ओढ्ने साधनलाई ‘घुम’ भनिन्छ ।  यसको प्रयोग खेत जोत्ने बेला र धानको बेर्ना उखेल्ने बेलामा अथवा पानीले भिज्नबाट बच्नको लागि प्रयोग गरिन्छ । हाल जिल्लामा यसको प्रयोग पनि कमै मात्रामा देख्न पाइन्छ ।
 
आफ्नै कला र सीपबाट बन्ने यस्ता सामग्रीको संरक्षणमा कसैले ध्यान दिएको पाइएको छैन । निगालो तथा बाँसबाट बनेका सामग्री स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो मानिन्छन् । तर पछिल्लो समय प्लास्टिकका सामग्रीको प्रयोगले यस्ता सामग्री लोप हुने अवस्थामा पुगेका छन् । 
 
डेलीः  डेलीलाई गोठको दराज भन्दा पनि फरक पर्दैन । डेली भन्नाले बाँसका चोया, बेत आदिद्वारा बुनेको पेटारो भन्ने बुझिन्छ । पहिलेपहिले बेंसी बाट लेक तथा लेकबाट बेंसीमा गोठ लैजाँदा गोठमा आवश्यक पर्ने सम्पूर्ण सामग्री डेलीमा बोकेर लगिन्थ्योे । अझ रमाइलो कुरा त यो भाँडोमा गोठमा आवश्यक सम्पूर्ण सामाग्रीहरू एकै ठाउँमा अटाउँथ्यो । तर आधुनिकतासँगै डेली पनि आजभोलि लोप भएको छ । 
 
भुने: यो चोयाबाट बनाइएको एक प्रकारको भाँडो हो । बाँस, मालिङ्गो आदिका चोयाले बुनेको लेकतिरबाट मही ओसार्र्ने भाँडो हो भुने । यो हस्तनिर्मित सामग्री हो । यो बनाउन सीप पनि थोरैले पुग्दैन । बाँसको चोयाबाट तरल पदार्थ नछिर्ने गरी खिपेर बनाइन्थ्यो । तर यो त पछिल्लो पुस्तालाई कथा मात्रै बनेको छ । 
 
धिरी:  यो पानी बोक्ने एक प्रकारको बाँसको भाँडो हो । परापूर्वकालमा पानी बोक्नको लागि यसलाई प्रयोग गरिन्थ्यो । कुनै एउटा ठूलो बाँसका आँखा खोलेर खिपेर बनाएपछि पानी बोक्ने काममा प्रयोग गरिने धिरी  वर्तमान पुस्ताले प्रयोग गर्नु त परै जाओस् नाम सुन्दै अनौठो मान्छन् । 
 
खलाँती: यो आरनमा आगो फुक्न हावा दिने छालाको थैलो हो । खलाती विशेष गरी विश्वकर्मा समुदायले फलामका सामग्री पगाल्न तथा काँचो फलामबाट विभिन्न आकृति निर्माण गर्नको लागि आगो फुक्न यसको प्रयोग गर्ने गरेको पाइन्छ । 
आधुनिक मेसिनको प्रयोगका कारण आजकल यो पनि कथा मात्रै बन्न पुगेको छ । यसको संरक्षणमा न त सम्बन्धित समुदायले चासो दिएको छ न त अन्य सरोकारवाला निकायले नै । आजकल खलाँतीको सट्टा अन्य आधुनिक मेसिन प्रयोग गर्न थालिएको छ । 
 
कोल, ढिकी, जाँतो
उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ गाउँमा नदेखिएको वर्षौं भइसकेको छ । अघिल्लो पुस्तासम्म उखु, अमिलो र तोरी पेल्न गाउँमा निर्विकल्प घरेलु मेसिनका रूपमा रहेको कोल अहिले आएर सङ्खुवासभाका सुगमका साथै ग्रामीण क्षेत्रबाट समेत विस्थापित भइसकेको छ । त्यसैगरी धान कुट्न प्रयोग हुने ढिकी र ओखल पनि बिरलै देख्न पाइन्छ । गाउँमा जाँतो प्रयोगकर्ता कोही छैनन् । 
माथि उल्लोखित सामग्रीहरू नयाँ पुस्तका लागि दन्त्यकथा भइसकेका छन् । नयाँ यस्ता नाम सुन्दै अनौठो मान्छन् । यसरी नेपाली समाजका विभिन्न मेसिनहरू हराउँदै गएका छन् । आधुनिक प्रविधिको विकास हुनुअघि यस क्षेत्रमा दैनिक जीवनयापनका लागि अति आवश्यक एवं निर्विकल्प परम्परागत साधन तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानीघट्ट लोप हँुदै गइरहेका छन् । 
 
यस्ता सामग्रीका जानकार साहित्यकार ताराबहादुर बुढाथोकीका अनुसार आधा रातदेखि ढिकिच्याउँ ढिकिच्याउँ र घुइँघुइँ गर्ने ढिकीजाँतो लोप हुँदै गएका छन् । ‘बुढापाकाहरूले प्रयोग गर्दै आएका मौलिक हाते औजार ढिकी, जाँतो र कोलसमेत नयाँ पुस्ताका लागि इतिहास मात्र रहने भयो,’ साहित्यकार बुढाथोकीले भने, ‘अहिले आधुनिक बाजागाजाले स्थान पाएपछि मौलिक सांस्कृतिक लोकबाजाहरू पनि हराउँदै गएका छन् ।’ 
 
यस जिल्लाका बासिन्दाको परम्परागत सभ्यता र मौलिक संस्कृतिको प्रतीक घरेलु मेसिन लोप हुँदै गएपछि मौलिक संस्कृतिसमेत प्रभावित भएको स्थानीय प्रेम कार्की बताउँछन् । घरेलु मेसिन लगायतका परम्परागत साधन पनि लोप हुँदै गएपछि यस क्षेत्रको मौलिक सभ्यता नै सङ्कटमा परेको कार्कीले बताए  । 
 
‘सङ्खुवासभाका घरेलु मेसिनहरू हराइसके,’ कार्कीले भने, ‘हामी को हौं ? हाम्रो सभ्यता के हो भन्ने कुराको बोध गराउने यी चिजहरू नै हराएपछि हाम्रो मौलिक संस्कृति र सभ्यता पनि सङ्कटमा परेको छ । स्थानीय स्रोतसाधन एवं स्थानीय सीपबाटै निर्माण गरिने घरेलु मेसिनबाट यस क्षेत्रको परम्परागत जनजीवन, कला र सामाजिक अवस्थाका विषयमा समेत अध्ययन गर्न सकिन्छ ।
 
‘जीवनयापनको क्रममा पुर्खाले प्रयोगमा ल्याएका घरेलु उपकरण विशुद्ध हाम्रा पुर्खाको आविष्कार हो,’ स्थानीय मौलिक संस्कृतिका विषयमा रुचि राख्ने अग्रज पत्रकार जीवनाथ खनालले भने, ‘मौलिक घरेलु उपकरणको अध्ययनबाट पूर्वजहरूको आर्थिक, सामाजिक एवं धार्मिक अवस्थाका साथै प्रचलित जीवनशैलीको परिचयसमेत बोध गर्न सकिन्छ । 
 
‘घरेलु उपकरण पूरै लोप भएपछि भावी पुस्ताका लागि यस क्षेत्रको मानव सभ्यता र संस्कृतिका विषयमा अध्ययन गर्ने आधार रहने छैन,’ खनालले भने, ‘पाश्चात्य जीवनशैलीलाई आधुनिकीकरणको मूलभूत आधार मान्ने मनोविज्ञान सघन रूपमा झाँगिनु हाम्रो मौलिक जीवनशैलीको विनाश निम्त्याउनु हो ।’
दैनिक प्रयोगका विभिन्न आधुनिक मेसिन भित्रिए पनि यस क्षेत्रका घरेलु मेसिनको आफ्नै खाले विशेषता रहेको स्थानीय बासिन्दा बताउँछन् । ‘घरेलु मेसिनको प्रयोगबाट लाभदायक एवं गुणस्तरीय वस्तुको उत्पादन गर्न मिल्छ,’ स्थानीय भोला गौलीले भने, ‘घरेलु मेसिनको तुलनामा आधुनिक मेसिनको प्रयोग महङ्गो एवं खर्चिलो छ ।’ 
 
लोप हँुदै गइरहेका यी मेसिनको संरक्षण र प्रवद्र्धन गरी यिनीहरूको प्रयोगलाई बढावा दिइनुपर्ने कुरामा गौलीको जोड रहेको छ । प्रायः सामूहिक रूपमा प्रयोग गरिने घरेलु उपकरणको विशेषता सामाजिक सद्भावमा अभिवृद्धि गर्नु पनि रहेको जानकारहरूको तर्क छ । सामुहिक प्रयोगका माध्यमबाट यस्ता घरेलु उपकरणले आपसी सम्बन्धमा निकटता ल्याई सामाजिक सहयोग एवम् सद्भाव र भाइचारामा अभिवृद्धि गर्ने उनीहरूको भनाइ छ ।